Logo २२ श्रावण २०८३, शुक्रबार | Fri Aug 7 2026


अमेरिकामा ठूलो मात्रामा हतियार रहेको राष्ट्रपति ट्रम्पकाे खुलासा 


0
Shares

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकासँग ठूलो मात्रामा विशेष प्रकारका हतियारहरू रहेको खुलासा गर्नुभएकाे छ ।

राष्ट्रपति ट्रम्पकाे यो अभिव्यक्ति इरानविरुद्ध सघन सैन्य अभियानपछि अमेरिकी  हतियारको कमी भएको बारेमा विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको रिपोर्टपछि आएको हो । राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत रक्षा कम्पनीहरूले अमेरिकामा इतिहासकै सबै भन्दा बढी सङ्ख्यामा प्लान्ट र कारखानाहरू निर्माण गरिरहेको र ठूलो मात्रामा हतियार उत्पादन गरी आवश्यकताअनुसार अमेरिकामा पठाइरहेको बताउनुभयो ।

सीबीएस न्युजका अनुसार अमेरिकाले ‘अपरेशन एपिक फ्युरी’ का क्रममा विशेषगरी आफ्नो आर्मी ट्याक्टिकल मिसाइल सिस्टम र प्रिसिजन स्ट्राइक मिसाइलको सबैजसो भण्डार प्रयोग गरेको थियो । सीबीएस न्युजले अमेरिकासँग रहेका इन्टरसेप्टर मिसाइल र लामो दूरीका क्षेप्यास्त्रको मौज्दात निकै घटेको जनाएकाे छ।

त्यस्तै, समाचार संस्था रोयटर्सले पनि यो अभियानमा अमेरिकाले आफ्ना सबैजसो लामो दूरीका क्षेप्यास्त्र प्रयोग गरेको रिपोर्ट सार्वजनिक गरेको थियो । यसैबीच वाशिङ्टन पोस्टको बुधबारको रिपोर्ट अनुसार गएको हप्ता प्रेसिडेन्सियल रिट्रीट क्याम्प डेभिडमा राष्ट्रपति ट्रम्पले अमेरिकी रक्षामन्त्री पीट हेग्सेथमाथि आक्रोश व्यक्त गर्नुभएको थियो ।

राष्ट्रपति ट्रम्पले हेग्सेथसँग इरानसँगको सैन्य विकल्पलाई सीमित पार्ने खतरामा परेको चरम हतियारको कमीमा आफूलाई किन बहकाएको थियो भन्ने प्रश्नको जवाफ माग्नुभएको खबरमा उल्लेख छ । उहाँले यी बयानहरू ‘चुहावट गर्नेहरू’ को खोजी भइरहेको र भेटिएपछि लामो अवधिको जेल सजाय गरिने चेतावनी दिनुभयाे ।