काठमाडाैं । गृहमन्त्री सुधन गुरुङले निर्मला पन्त हत्या प्रकरणको सुक्ष्म ढंगले अनुसन्धान भइरहेको बताउनुभएको छ ।
राष्ट्रिय सभाको बिहीवारको बैठकमा सांसदसँगको प्रश्नोत्तर कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले आइन्दा निर्मला पन्त हत्या प्रकरणको विषय संघीय संसदमा नउठाउन समेत सांसदहरुलाई आग्रह गर्नुभयो ।
प्रश्नोत्तर कार्यक्रममा नेपाली कम्युनिष्ट पार्टीका सांसद विष्णुबहादुर विश्वकर्माले ‘कञ्चनपुरकी निर्मला पन्त हत्या जघन्य बलात्कार र प्रकरणमा लामो समय बितिसक्दा पनि सरकारले दोषि पत्ता लगाई न्याय दिन नसक्नुको कारण के हो ? यो राज्य संयन्त्रको असक्षमता हो कि कारबाही गर्न नचाहेको हो ? सरकारले हाम्री चेली निर्मालालाई कहिलेसम्म न्याय दिलाउँछ ?’ भनि प्रश्न सोध्नुभएको थियो । जवाफमा गृहमन्त्री गुरुङले तपाईंहरु सत्तामा हुँदा किन नगर्नुभएको ? भन्दै प्रतिप्रश्न गर्नुभयो ।
गृहमन्त्री सुधन गुरुङले मुलुकमा शान्ति–सुरक्षा कायम राख्ने दायित्वअनुसार हत्या, हिंसा र बलात्कारजस्ता गम्भीर अपराधको अनुसन्धान निरन्तर भइरहेको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘सरकार मुलुकमा शान्ती सुव्यवस्था कायम गर्नको लागि निरन्तर लागिरहेको छ । यो गृहमन्त्रालयको मुख्य जिम्मेवारी भएकोले पनि यस सचेत छ । हत्या, हिंसा, बलात्कार अगायतका अपराधहरुको अनुन्धान हामीले क्रमवद्ध रुपले गरिरहेका छौँ । माननीयज्यूले उठाउनुभएको विषय एकदमै संवदेनशील छ । यो प्रश्न म हजुरलाई पनि गर्न चाहन्छु । हजुरहरु सत्तामा हुँदा किन नगर्नुभएको हो ? यस्तो गम्भीर विषयमा निर्मला पन्तको आमालाई पीडा दिइरहने हो कि सुक्ष्म रुपले अनुसन्धान गरेर नतिजा दिने हो ? त्यसकारण यस विषयमा धेरै बोल्नु उचित हुँदैन । यस विषयमा हामीले सुक्ष्म ढंगले अनुसन्धान गरिरहेका छौँ । र अब आइन्दा यस्ता प्रश्न राष्ट्रिय सभा र प्रतिनिधि सभामा नउठाइदिन पनि आग्रह गर्न चाहन्छु ।’
उहाँले पीडित परिवारलाई थप पीडा दिनेगरी बलात्कार जस्ता संवेदनशील विषय संसदमा नभई व्यक्तिगत रुपमा राख्न समेत आग्रह गर्नुभयो ।









प्रतिक्रिया दिनुहोस्