एजेन्सी। अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले सोमबार दिउँसोदेखि इरानसँग वार्ता शुरु हुने घोषणा गर्नुभएको छ ।
साउदी अरब, संयुक्त अरब इमिरेट्स (यूएई) र कतारले सम्भावित सम्झौताको सम्भावना रहेको भन्दै नियोजित सैन्य हमला रोक्न अमेरिकालाई आग्रह गरेपछि राष्ट्रपति ट्रम्पले वार्ताको बाटो रोज्नुभएको हो । जोइन्ट बेस एन्ड्र्युजका लागि उडिरहेको एअर फोर्स वानमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले हर्मुज जलसन्धि र इरानको परमाणु निशस्त्रीकरणका विषयमा वार्ता केन्द्रित रहने बताउनुभएकाे छ।
राष्ट्रपति ट्रम्पले इरान स्वयंले पनि नियोजित सैन्य कारबाही पछि हटाउन अमेरिकालाई कडा आग्रह गरेको दावी गर्नुभयो ।यसअघि गत शनिबार साउदी अरबका युवराज एवं प्रधानमन्त्री मोहम्मद बिन सलमान अल साउदले राष्ट्रपति ट्रम्पसँग टेलिफोन वार्ता गर्नुभएको थियो । सोही क्रममा उहाँले इरानविरुद्धको प्रस्तावित सैन्य योजनाप्रति चासो र चिन्ता व्यक्त गर्दै यसकाे बारेमा स्पष्टता माग गर्नुभएको अमेरिकी अधिकारीहरूले जनाएका छन् ।
इरान र अमेरिकाबीच बढ्दो तनावलाई दृष्टिगत गर्दै पाकिस्तान, कतार, यूएई र टर्की लगायतका देशहरूले पनि दुवै पक्षलाई संयमता अपनाउन तथा थप द्वन्द्वबाट बच्न अपिल गर्दै आएका हुन् ।









प्रतिक्रिया दिनुहोस्