एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथिको सैन्य आक्रमण लगातार दोस्रो रात पनि स्थगित गर्नुभएको छ । अमेरिकी प्रशासनका अनुसार कूटनीतिक वार्तालाई थप समय दिन यो निर्णय गरिएको हो ।
संयुक्त राष्ट्रसंघका लागि अमेरिकी राजदूत माइक वाल्ट्जले ट्रम्पले वार्तालाई अवसर दिन खोजेको बताउनुभयो । उहाँले अमेरिकाले सबै विकल्प खुला राखेको स्पष्ट पार्दै आवश्यक परे सैन्य कारबाही पुनः सुरु हुन सक्ने संकेत पनि दिनुभयो । यता इरानले पनि आफ्नो प्रतिकारात्मक आक्रमण अस्थायी रूपमा रोकेको जनाएको छ ।
इरानी सेनाका एक प्रवक्ताका अनुसार हालका लागि क्षेत्रीय सैन्य गतिविधि रोकिएको छ । दुवै पक्षबीचको तनाव भने अझै पूर्ण रूपमा अन्त्य भएको छैन । यो अवस्था जुन महिनामा भएको युद्धविरामपछि पुनः सुरु भएको द्वन्द्वको पछिल्लो विकास हो । केही साताअघि इरानले हर्मुज जलमार्गमा तेल ट्यांकरमाथि आक्रमण गरेपछि अमेरिकाले फेरि हवाई आक्रमण सुरु गरेको थियो ।
त्यसको जवाफमा इरानले मध्यपूर्वस्थित अमेरिकी सैन्य अड्डाहरूमा आक्रमण गर्दा चार अमेरिकी सैनिकको मृत्यु भएको थियो । अमेरिकी आक्रमणमा इरानमा दर्जनौँ मानिसको ज्यान गएको इरानको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैबीच, इरान र ओमानबीच हर्मुज जलडमरूको व्यवस्थापनबारे प्राविधिक तहमा वार्ता भइरहेको छ ।
विश्वको प्रमुख तेल तथा ग्यास ढुवानी मार्गका रूपमा रहेको यो जलडमरूको विषयलाई लिएर दुवै पक्षबीच सहमति हुन सकेमा क्षेत्रीय तनाव कम हुने अपेक्षा गरिएको छ ।









प्रतिक्रिया दिनुहोस्