Logo २४ श्रावण २०८३, आइतबार | Sun Aug 9 2026


मुलुक विदेशीको खेलमैदान बन्ने खतरा बढेको छ : माधव नेपाल


143
Shares

काठमाडाैं । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले मुलुक विदेशीको खेलमैदान बन्ने खतरा बढेको बताउनुभएको छ ।

बिहीवार प्रदीप नेपाल स्मृति पत्रकारिता पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै उहाँले राष्ट्रिय राजनीति सकारात्मक दिशामा अगाडि नबढेको र मुलुक संकटपूर्ण अवस्थामा रहेको टिप्पणी गर्नुभएको हो ।

नेता नेपालले अहिलेको चुनौतीपूर्ण समयमा आफ्नो पार्टीको काँधमा गम्भीर जिम्मेवारी आएको उल्लेख गर्दै देशको अस्तित्व र सार्वभौमसत्तामाथि नै प्रश्न उठ्न थालेको बताउनु भयो । उहाँले मुलुकको भौगोलिक अखण्डता, स्वतन्त्रता र असंलग्न परराष्ट्र नीति कायम रहनेमा आशंका व्यक्त गर्दै नेपाल विदेशीहरूको खेलमैदान बन्ने खतरा रहेकोतर्फ सचेत गराउनुभयो ।

विश्वका विभिन्न देशमा भएका राजनीतिक द्वन्द्व र शक्ति राष्ट्रहरूको चलखेलका उदाहरण दिँदै उहाँले इरान र युक्रेन जस्ता मुलुकका घटनाक्रमले चिन्तित बनाएको र कतै नेपाल पनि विदेशीहरूको क्रीडास्थल त बन्ने होइन भन्ने त्रास फैलिएको बताउनु भयो । बुद्धको जन्मभूमि र शान्तिप्रिय देशका रूपमा विश्वमा परिचित नेपालको गौरव र पहिचान कायम रहन्छ कि रहँदैन भन्नेमा नागरिकहरू चिन्तित रहेको उहाँको भनाइ छ । नेता नेपालले शान्तिपूर्ण र पर्यटकीय गन्तव्यका रूपमा रहेको नेपालमा वैदेशिक हस्तक्षेप बढ्न सक्ने भन्दै आपत्ति प्रकट गर्नुभयो ।

सहसंयोजक नेपालले भन्नुभयो, ‘नेपालको राजनीतिमा धेरै राजनीतिक दल भए पनि वर्तमान परिस्थितिमा हाम्रो पार्टीको काँधमा विशेष जिम्मेवारी आएको छ । राष्ट्रिय राजनीति अपेक्षाअनुसार सकारात्मक दिशामा अघि बढिरहेको छैन । देश विभिन्न चुनौती र अन्योलबीच रहेको छ र भोलि के हुने हो भन्ने चिन्ता जनमानसमा बढ्दै गएको छ । देशको अस्तित्व, सार्वभौमसत्ता, भौगोलिक अखण्डता तथा स्वतन्त्र र असंलग्न परराष्ट्र नीति सुरक्षित रहन्छ कि रहँदैन भन्ने प्रश्न उठ्न थालेको छ । कतै नेपाल विदेशी शक्तिहरूको प्रतिस्पर्धाको मैदान त बन्दै छैन भन्ने चिन्ता पनि बढेको छ । हामी इरान, युक्रेनलगायत विभिन्न देशका घटनाबाट पाठ सिकिरहेका छौँ ।

बुद्धको जन्मभूमि, सगरमाथाको देश, प्राकृतिक सौन्दर्यले भरिपूर्ण र विश्वका पर्यटकहरूको आकर्षण बनेको नेपाल सधैँ शान्तिपूर्ण रहिरहन सकोस् भन्ने सबै नेपालीको चाहना हो। त्यसैले नेपालमा कुनै पनि विदेशी शक्तिको अनावश्यक प्रभाव वा हस्तक्षेप बढ्न नदिने विषयमा सबै सचेत हुन आवश्यक छ । यही कारण अहिले सरकारका काम, गतिविधि, अभिव्यक्ति र व्यवहारले जनतामा विभिन्न आशंका र चिन्ता उत्पन्न गरिरहेका छन् ।’ सरकारको काम, गतिविधि र व्यवहारले आम जनतामा आशंका पैदा गरेको टिप्पणी गर्दै उहाँले सत्तापक्षका बोली र व्यवहारले नागरिकलाई सशंकित बनाएको दाबी गर्नुभयो ।