काठमाडाैं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले दोस्रो चरणको वित्तीय क्षेत्र सुधारका लागि नयाँ दृष्टिकोण आवश्यक रहेको बताउनुभएको छ ।
पूर्वयोजनाकार मञ्च नेपालद्वारा बिहीवार ललितपुरमा आयोजित कार्यक्रममा बोल्दै उहाँले परम्परागत बैंकिङ प्रणालीको विकल्पका रूपमा डिजिटल र अनचेन भुक्तानी प्रणालीहरू सशक्त बन्दै गएको बताउनुभएको हो । बदलिँदो वैश्विक परिवेशमा बैंकिङ क्षेत्रले विभिन्न चुनौतीहरूको सामना गरिरहेको बताउनुभयो ।
गभर्नर पौडेलले पछिल्लो समय अमेरिका लगायतका देशहरूमा बिटक्वाइन र अन्य क्रिप्टोकरेन्सीको उदयसँगै ‘अनचेन पेमेन्ट’ को लोकप्रियता बढ्दै गएको उल्लेख गर्नुभयो । बैंकहरूले गर्ने क्लियरिन्स र मध्यस्थताको काम अब वैकल्पिक प्रविधिहरूले गर्न थालेको उहाँको विश्लेषण छ ।
बैंकले इन्टरमेडियरी एजेन्सीको रूपमा गरिरहेको कामको विकल्पमा धेरै चिजहरू निस्कन थालेको र यसले गर्दा बैंकिङ क्षेत्रमा नयाँ चुनौतीहरू थपिएका बताउनु भयो । यी चुनौतीहरूलाई सम्बोधन गर्न बैंकहरूको वर्गीकरणमा मात्र सीमित नभई क्रिप्टोकरेन्सीको बढ्दो प्रभाव र अनचेन ट्रान्जेक्सन सिस्टमलाई समेत ध्यानमा राखेर वित्तीय सुधारका योजनाहरू बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।
मौद्रिक नीति तर्जुमा गर्दा राजनीतिक दबाब वा हतारोमा निर्णय लिन नहुने गभर्नर पौडेलको तर्क छ । बजेट निर्माणको समयमा जस्तै अन्तिम घडीमा आउने डेलिगेसन र प्रभावबाट मौद्रिक नीति मुक्त हुनुपर्ने उहाँले स्पष्ट पार्नुभयो । गभर्नर पद एक नियुक्त पद भएकाले यसलाई अनावश्यक रूपमा प्रचारमुखी बनाउनु भन्दा ऐनले दिएको म्यान्डेट भित्र रहेर संस्थागत स्थायित्वका लागि काम गर्नुपर्ने उहाँको धारणा छ ।
गभर्नर पौडेलले भन्नुभयो, ‘दोस्रो चरणको वित्तीय क्षेत्र सुधार गर्दा अब परम्परागत बैंकिङ प्रणालीको वर्गीकरणमा मात्र सीमित भएर पुग्दैन । क्रिप्टोकरेन्सी, डिजिटल भुक्तानी प्रणाली, वैकल्पिक वित्तीय माध्यमलगायत नयाँ चुनौतीलाई समेटेर समग्र वित्तीय संरचनाको पुनरावलोकन गर्न आवश्यक छ । मौद्रिक नीतिको मुख्य ध्यान मूल्य तथा वित्तीय स्थायित्व कायम गर्ने, नीतिगत दर र म्याक्रोप्रुडेन्सियल उपायमा केन्द्रित हुनुपर्छ ।
राष्ट्र बैंकले आफ्नो कानूनले दिएको म्यान्डेटभित्र रहेर काम गर्ने हो, बजारलाई कृत्रिम रूपमा चलाउने होइन । वित्तीय क्षेत्र सुधार हतारमा गरिने विषय होइन । अन्य देशका अनुभव, क्रस–कन्ट्री अध्ययन र सरोकारवालासँगको छलफलका आधारमा नेपालको आवश्यकता र अवस्थाअनुसार उपयुक्त वित्तीय संरचना तय गर्नुपर्छ । देशको रूपान्तरणका लागि उपलब्ध तरलता र स्रोतलाई प्रभावकारी रूपमा उपयोग गर्नुपर्छ । तर कुन क्षेत्रमा पैसा जाने भन्ने वातावरण बनाउने जिम्मेवारी मौद्रिक नीतिभन्दा बढी वित्तीय नीतिको हो । निजी क्षेत्र र सरकारबीचको सहकार्यबाट मात्र ठूला आर्थिक रूपान्तरण सम्भव हुन्छ । जहाँ निजी क्षेत्र प्रभावकारी हुन्छ, त्यहाँ उपयुक्त नीति र वातावरण बनाएर लगानी आकर्षित गर्नुपर्छ ।’
तरलता व्यवस्थापन र आर्थिक विकासका लागि मौद्रिक नीति भन्दा पनि वित्त नीतिले नेतृत्वदायी भुमिका खेल्नुपर्ने उहाँले बताउनु भयो । एक्सप्रेस–वे र सुरुङमार्ग जस्ता पूर्वाधार विकासमा पनि सरकारले स्पष्ट वित्त नीति ल्याएमा निजी क्षेत्र र बैंकिङ क्षेत्रको लगानी आकर्षित भई मुलुकको रूपान्तरण सम्भव हुने उहाँले दाबी गर्नुभयो । जग्गा जस्ता सट्टाबाजीजन्य सम्पत्तिमा लगानी खन्याउनु भन्दा उत्पादक क्षेत्रमा पुँजी परिचालन गर्न वित्त नीतिले मार्गप्रशस्त गर्नुपर्ने उहाँको सुझाव छ ।









प्रतिक्रिया दिनुहोस्