स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिका–६ बनपालेमा एक गोठ भत्किँदा च्यापिएर एक वृद्धको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाले बिहीबार आफ्ना पशुचौपायालाई दाना–पानी खुवाउन गोठमा गएका ६५ वर्षीय धनबहादुर रेस्मीको गोठ भत्किँदा घटनास्थलमै मृत्यु भएको जनाएकाे हो। बिहीबार बिहान करिब सवाँ ५ बजेतिर धनबहादुर गोठभित्र भैँसीलाई दाना–पानी खुवाइरहेकाे समयमा एक्कासि गोठ भत्किएको थियो। भग्नावशेषमा च्यापिएका उनको स्थानीयवासीले तत्काल उद्धार गरेका थिए। तर, गम्भीर अवस्थामा रहेका रेस्मीलाई बचाउन नसकिएको प्रहरीले जनाएको छ। दुर्घटनामा गोठमा रहेका पशुचौपाया समेत प्रभावित भएका छन्।
घटनापछि प्रहरी टोली घटनास्थलमा पुगेर आवश्यक कानूनी प्रक्रिया पूरा गरेको छ। स्थानीयले पछिल्ला केही दिनदेखिको अविरल वर्षाले गोठको संरचना कमजोर बनेको बताएका हुन्। केही दिनअघि सोही क्षेत्रमा आएको बाढीले दुई घर र एक विद्यालयमा समेत क्षति पुर्याएको थियो। लगातारको वर्षापछि जीर्ण बनेको गोठ भत्किँदा दुर्घटना भएको हुनसक्ने अनुमान गरिएको छ।
प्रहरीले घटनाको वास्तविक कारणकाे बारेमा अनुसन्धान गरिरहेको जनाएको हाे। वर्षायाममा कमजोर संरचनामा बढ्दो जोखिमबीच भएको यस घटनाले स्थानीयबासीलाई स्तब्ध बनाएको छ।









प्रतिक्रिया दिनुहोस्