Logo ३१ असार २०८३, बुधबार | Wed Jul 15 2026


जुम्ल्याहा शिशुको विभत्स हत्या, आमा पक्राउ


442
Shares

एजेन्सी । अमेरिकाको इडाहो राज्यमा १८ महिनाका जुम्ल्याहा शिशुको हत्या गरेको आरोपमा पक्राउ परेकी एक आमालाई अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।

ती आमाले आफ्ना शिशुको मृत्यु खोपका कारण भएको दाबी गर्दै आएकी भए पनि अनुसन्धानपछि प्रहरीले उहाँमाथि शिशुको श्वास अवरुद्ध गरी हत्या गरेको अभियोग लगाएको हो । प्रहरीका अनुसार २३ वर्षीया एन्ड्रिया शाले फ्लू, हेपाटाइटिस–ए र टिटानससहितका नियमित बाल खोप लगाएको आठ दिनपछि आफ्ना जुम्ल्याहा शिशुको मृत्यु भएको दाबी गर्नुभएको थियो । उहाँ खोपविरोधी संस्था ‘चिल्ड्रेन्स हेल्थ डिफेन्स’ ले दायर गरेको मुद्दाकी मुख्य वादीसमेत हुनुहुन्थ्यो ।

उक्त संस्थाको स्थापना तथा नेतृत्व वर्तमान अमेरिकी स्वास्थ्यमन्त्री बन्नुअघि रोबर्ट एफ केनेडी जुनियरले गर्नुभएको थियो । अमेरिकाको उत्तरपश्चिमी इडाहो राज्यस्थित पेएट प्रहरी विभागले लामो र विस्तृत अनुसन्धानपछि शालाई पक्राउ गरी अभियोग दर्ता गरिएको जनाएको छ ।

प्रहरीले शिशुको मृत्यु प्राकृतिक नभई श्वास रोकी हत्या गरिएको निष्कर्ष निकालेको बताएको छ । मङ्गलबार भएको अदालतको सुनुवाइमा शाका कानून व्यवसायी जोसेफ फिलिसेट्टीले उहाँलाई ‘मायालु र जिम्मेवार आमा’ भएको दाबी गर्दै राज्यले प्रस्तुत गरेको चित्रण वास्तविकताभन्दा फरक रहेको बताउनुभयो । मृत्युदण्डसम्मको सजाय हुन सक्ने अभियोग सामना गरिरहेकी शाले २० लाख अमेरिकी डलर बराबरको धरौटी रकम घटाइदिन आग्रह गर्नुभएको थियो । पक्राउ पर्नुभन्दा केही दिनअघि जन्मिएकी आफ्नी नवजात छोरीसँग बस्न पाउने आधारमा उहाँले यस्तो अनुरोध गर्नुभएको थियो ।

तर न्यायाधीश किली स्टुचलिकले घटनाको गम्भीरताप्रति चिन्ता व्यक्त गर्दै धरौटीको सुविधा नदिई पुर्पक्षका लागि थुनामै राख्ने आदेश दिनुभएको इडाहो स्टेट्सम्यानले जनाएको छ । सन् २०२५ को मे महिनामा जुम्ल्याहा शिशुको मृत्यु भएपछि शाले आफूले उनीहरूलाई ओछ्यानमा अचेत अवस्थामा फेला पारेको बताउँदै सार्वजनिक रूपमा खोपकै कारण मृत्यु भएको दाबी गर्नुभएको थियो । यद्यपि स्वास्थ्य विज्ञहरूले नियमित बाल खोपले श्वासप्रश्वास रोकिने वा अवरुद्ध हुने जोखिम बढाउँदैन भन्ने वैज्ञानिक प्रमाण रहेको दोहो¥याएका छन् । उनीहरूले आनुवंशिक रूपमा समान नभएका जुम्ल्याहा शिशुको एउटै समयमा खोपको प्रतिकूल प्रतिक्रियाबाट मृत्यु भएको दाबी पनि अस्वाभाविक भएको बताएका छन् । खोप र अटिजमबीच सम्बन्ध रहेको दाबी गर्दै आउनुभएका स्वास्थ्यमन्त्री रोबर्ट एफ केनेडी जुनियरले यस घटनाबारे कुनै सार्वजनिक प्रतिक्रिया दिनुभएको छैन । यस्तै, चिल्ड्रेन्स हेल्थ डिफेन्सले पनि एएफपीको प्रतिक्रिया मागको जवाफ दिएको छैन ।