बाजुरा ।
बाजुरा र हुम्लाको सिमा विवादका क्रममा भएको झडपका कारण पक्राउ परेका २१ जनामध्ये १० जनालाई पुर्पक्षका लागि थुनामा राख्न जिल्ला अदालत बाजुराले आदेश दिएको छ ।
अदालतले सोमबार मध्यरातमा दिएको आदेशअनुसार ८ जनालाई जनही दुई लाख रुपैयाँ धरौटीमा रिहा गर्न तथा तीन जनालाई साधारण तारेखमा छाड्न आदेश दिएकाे हाे ।
घटनामा संलग्न आरोपी मध्ये एक जना अझै फरार रहेका छन् । गत जेठ ३ गते हुम्लाका स्थानीयको एक समूहले लाम्पाटा पुगेर स्थानीय जनप्रतिनिधि तथा बासिन्दामाथि कुटपिट, दुव्र्यवहार र बन्धक बनाएको अभियोग लागेको छ ।
लाम्पाटामा अस्थायी प्रहरी चौकी स्थापना गर्न भवन निर्माण भइरहेको थियो । सुदूरपश्चिम प्रदेश सरकारले ४० लाख रुपैयाँ विनियोजन गरेर भवन निर्माण सुरु गरेपछि हुम्लाका स्थानीयले बिरोध गर्दै आएका छन् ।
घटनामा हिमाली गाउँपालिका–३ का वडा सदस्य पेमा गोरा गुरुङ, उनकी श्रीमती लक्ष्मी गुरुङ, मिनु कुँवर, नरबहादुर गुरुङ, प्रहरी सहायक हवल्दार महेश धामी तथा हिमाली गाउँपालिकाका कार्यकारी प्रमुख कुलबहादुर थापा घाइते भएका थिए ।
साथै जेठ ५ गते रानीसैन क्षेत्रमा पर्यटन प्रवद्र्धन तथा प्रचारप्रसारका लागि पुगेको टोलीमाथि पनि कुटपिट तथा दुव्र्यवहार भएको थियो । लाम्पाटा घटना लगत्तै सरकारले सशस्त्र प्रहरी र नेपाली प्रहरीको अस्थायी सुरक्षा बेश क्याम्प स्थापना गरेको छ ।









प्रतिक्रिया दिनुहोस्