Logo ३० असार २०८३, मंगलबार | Tue Jul 14 2026


भारतको फोहोर प्रशोधन केन्द्रमा फोहोरको थुप्रो खस्दा ९ जनाको निधन


0
Shares

एजेन्सी । भारतको पश्चिमी क्षेत्रमा रहेको फोहोरबाट ऊर्जा उत्पादन गर्ने केन्द्रमा ठूलो वर्षापछि फोहोरको थुप्रो खस्दा ९ जना कामदारको ज्यान गएको छ ।

केन्द्रका सञ्चालकले एक विज्ञप्ति जारी गर्दै घटनाकाे बारेमा जानकारी दिएकाे समाचार संस्था एएफपीले जनाएको हाे । भारतमा गत जुनदेखि सेप्टेम्बरसम्म रहने मनसुन अवधिमा ठूलो वर्षाका कारण भवन तथा पूर्वाधारसम्बन्धी दुर्घटना हुने गरेका छन् । गत बुधबार पुणे सहरको बाहिरी क्षेत्रमा रहेको ‘एन्टोनी वेस्ट’ फोहोर प्रशोधन केन्द्रमा दुर्घटना भएको थियो ।

नजिकै रहेको ल्यान्डफिल (फोहोर विसर्जन स्थल) बाट हजारौँ टन फोहोर खस्दा प्रशासनिक भवनमा रहेका २३ जना व्यक्ति पुरिएका थिए । निरन्तरको वर्षाका कारण ल्यान्डफिल अस्थिर बनेपछि फोहोर खसेर भवनमा क्षति पुगेको उल्लेख छ । १४ जनालाई जीवितै उद्धार गरिएको कम्पनीले जनाएको हाे । संरचनागत तथा सुरक्षासम्बन्धी जाँच पूरा नभएसम्मका लागि केन्द्रको सञ्चालन अस्थायी रूपमा रोकिएको छ ।

मौसमविद्हरूले यस वर्ष सम्भावित शक्तिशाली ‘एल निनो’ मौसमी प्रभावले भारतको सामान्य मौसमी चक्रमा समेत असर पार्न सक्ने बताएका हुन् ।