काठमाडाैं । काठमाडौं महानगरीय प्रहरीले मोटरसाइकलमा ह्वील लक गरिदिएको आक्रोशमा आफैंलाई आगो लगाएका मुगुका गणेश नेपालीको उपचारका क्रममा निधन भएको छ ।
मुगुको सोरु गाउँपालिका–१ का २५ वर्षीय नेपालीको वीर अस्पतालमा उपचारका क्रममा शुक्रबार निधन भएको हो । वीर अस्पतालले पनि ‘आईसीयू’ मा उपचाररत नेपालीको निधन भएको पुष्टि गरेको हो । बिहीबार त्रिपुरेश्वरमा नो पार्किङ क्षेत्रमा मोटरसाइकल रोकेको भन्दै महानगरीय प्रहरीले नेपालीको मोटरसाइकलमा ह्वील लक लगाईदिएपछि उनले आफैंलाई पेट्रोल छर्केर आगो लगाएका थिए ।
तत्कालै उपचारका लागि वीर अस्पताल लगिए पछि उनको शरीर ८५ प्रतिशत जलेकाले अवस्था जटिल बनेको थियो । उनलाई उपचारका लागि बिहीबार राति नै भारत लैजाने तयारी सरकारले गरेको भए पनि अवस्था जटिल देखिएपछि भारत लैजाने तयारी रोकिएको थियो । यसैबीच, नेपालीको मृत्यु प्रकरण छानविनका क्रममा प्रहरीले तीन जना नगर प्रहरीलाई नियन्त्रणमा लिएको छ ।
दुई जना महिला र एक जना पुरुष नगर प्रहरीलाई कालीमाटी वृत्तमा राखेर अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको हाे।









प्रतिक्रिया दिनुहोस्