Logo ४ श्रावण २०८३, सोमबार | Tue Jul 21 2026


निर्वाचन आयोगका प्रस्तावित आयुक्तविरूद्ध १० दिनभित्र उजुरी गर्न संसदीय समितिकाे आह्वान

आगामी साउन ५ गते बस्ने समितिकाे बैठकमा प्राप्त भएका उजुरी खोलिने

0
Shares

काठमाडौं । संसदीय सुनुवाइ समितिले निर्वाचन आयोगको प्रमुख आयुक्त र आयुक्त पदमा सिफारिस भएकाहरुको सुनुवाई प्रक्रिया शुरु गरेको छ।

सिंहदरबारमा बिहीबार बसेको समिति बैठकले प्रस्तावित प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्की, आयुक्त राजीव सुब्बा र गुरुप्रसाद वाग्लेको सुनुवाई प्रक्रिया अघि बढाएको हो । प्रस्तावित व्यक्तिहरुको सुनुवाइका लागि १० दिनको समय दिएर उजुरी आह्वान गरिएको समितिका सभापति बोध नारायण श्रेष्ठले बताउनुभयाे ।

सूचना प्रकाशित भएको मितिले १० दिनभित्र स्पष्ट आधार खोली विधुतिय वा अन्य जुनसुकै माध्यमबाट पनि सूचना वा उजुरी दिन सकिने उहाँले बताउनुभएकाे छ। आगामी साउन ५ गते बस्ने समितिकाे बैठकमा प्राप्त भएका उजुरी खोलिने र अध्ययनका लागि सदस्यहरुलाई वितरण गरिने उहाँले जानकारी दिनुभयाे ।

बैठकमा बिपक्षी दलका सांसदहरुले सुनुवाई प्रक्रिया हतारमा नभइ प्रक्रिया पुराएर अघि बढाउन आग्रह गरेका थिए । समिति सदस्य पद्मा अर्यालले एकै दिन सुनुवाइ प्रक्रिया अघि बढाउदा प्रभावकारी नभएको भन्दै प्रक्रियागत रुपमा नै सुनुवाई गर्नुपर्ने धारणा राख्नुभयाे । त्यस्तै, समिति सदस्य वर्षमान पुनले संसदीय सुनुवाईको बिगतको अभ्यास अनुसार अघि बढाउनुपर्नेमा जाेड दिनुभएकाे छ।

सांसदहरुको सुझावपछि समितिका सभापति श्रेष्ठले प्रक्रियागत रुपमा नै प्रयाप्त छलफल गर्दै सुनुवाई प्रक्रिया अघि बढाइने बताउनुभयाे। संवैधानिक परिषद्को असार १९ गते बसेको बैठकले निर्वाचन आयोगको रिक्त पदमा तीन जनाको नाम सिफारिस गरेको थियो ।