Logo २४ असार २०८३, बुधबार | Wed Jul 8 2026


सब-डिभिजन वन कार्यालय बन्दीपुरका प्रमुख यादव घुससहित अख्तियारकाे नियन्त्रणमा (विज्ञप्तिसहित)


13
Shares

काठमाडाैं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको सब-डिभिजन वन कार्यालय बन्दीपुरका कार्यालय प्रमुख (अधिकृत आठौं) राम केवल राय यादवलाई घुस रकमसहित नियन्त्रणमा लिएको छ ।

उद्योगका लागि ल्याइएको काठहरूको सिलबन्दी अनुसार भए–नभएको रुजु गरी कागजातसहितको फाइल फिर्ता गर्ने क्रममा सेवाग्राहीलाई दुःख हैरानी दिएर उनले घुस मागेको उजुरीका आधारमा अख्तियारको टोलीले उनलाई पक्राउ गरेको हो ।अख्तियारको कार्यालय बर्दिवासबाट खटिएको टोलीले यादवलाई सेवाग्राहीबाट १२ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा सिरहाको कर्जन्हा नगरपालिका-४ स्थित मिर्चौयाबाट बन्दीपुर सडक खण्डबाट नियन्त्रणमा लिएको जनाएकाे छ।

खानतलासीका क्रममा यादवको साथबाट घुसको १२ हजार र स्रोत नखुलेको थप १ लाख ३३ हजार १ सय २० रुपैयाँ गरी जम्मा १ लाख ४५ हजार १ सय २० रुपैयाँ र एउटा मोबाइल समेत बरामद गरिएको हाे । प्रमुख यादवमाथि हाल थप अनुसन्धान भइरहेको अख्तियारका प्रवक्ता सुरेश न्यौपानेले बताउनुभयाे ।