Logo २३ असार २०८३, मंगलबार | Tue Jul 7 2026


महोत्तरीका उखु किसानले २ अर्ब रूपैयाँ पाए भुक्तानी


13
Shares

काठमाडाैं । महोत्तरीका दुई चिनी उद्योगमा बुझाइएको उखुको करिब २ अर्ब रूपैयाँ किसानले भुक्तानी पाएका छन् ।

जिल्लाका गौशाला नगरपालिका–१ स्थित एभरेष्ट सुगर एन्ड केमिकल इन्डष्ट्रिज र गौशाला–१२ स्थित सिद्धिविनायक सुगर एन्ड केमिकल इन्डष्ट्रिजमा बुझाइएको उखुको रकम बापत एक अर्ब ७६ करोड ५२ लाख ४६ हजार ४ सय ५५ किसानले भुक्तानी पाएका जिल्ला प्रशासन कार्यालय महोत्तरीले जनाएको हाे।

दुवै उद्योगमा गरेर किसानले २८ लाख ६७ हजार ९ सय ८६ क्विन्टल ९६ किलो उखु आर्थिक वर्ष २०८२/८३ को याममा बुझाइएका अभिलेखले देखाएको छ । जम्मा उखुको मूल्यबापत हुने एक अर्ब ७७ करोड ३४ लाख ३७ हजार २ सय ३२ मध्ये एक अर्ब ७६ करोड ५२ लाख ४६ हजार ४ सय ५५ भुक्तानी भइसकेको कार्यालयले जनाएकाे हाे ।

सरकारले उखु किसानलाई दिने अनुदानबापतको रकम भुक्तानीका लागि कोष तथा लेखा नियन्त्रक कार्यालय महोत्तरीलाई सिफारिस गरिएको छ । जिल्ला भुक्तानी समितिले अहिले २० करोड सात लाख ५९ हजार १ सय १७ अनुदान भुक्तानीका लागि सिफारिस गरेको जनाएकाे हाे ।

जिल्लामा भुक्तानी सिफारिसका लागि प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा भुक्तानी समितिको व्यवस्था छ । यस पटकको उखु बापतको मूल्य र अनुदान सबै भुक्तानी यसै असार मसान्तभित्र भइसक्ने प्रशासनले जनाएको हाे।