Logo २१ असार २०८३, आइतबार | Sun Jul 5 2026


गुमराहमा नेतृत्व परिवर्तन (भिडियो रिपोर्ट)


65
Shares

काठमाडौं । पार्टीभित्र व्यापक असन्तुष्टि बढेपनि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल नेतृत्व हस्तान्तरण गर्न तयार देखिएका छैनन् ।

नेतृत्व हस्तान्तरण र संगठनात्मक रुपान्तरणको विषय अघि बढाउन पुराना नेताहरुले मार्गप्रशस्त गर्नुपर्ने भन्दै पार्टीभित्र बहस चर्किएको छ । तर, उनीहरु सहजै अवस्थामा सो कुरा मान्न तयार देखिदैनन् । यसबाट पन्छिन उनीहरुले विभिन्न हतकण्डा अपनाइरहेका छन् ।

पछिल्ला केही वर्षयता एमाले लगायत नेपाली कम्युनिष्ट पार्टीमा पुस्तान्तरण, आन्तरिक लोकतन्त्र र नयाँ नेतृत्वको विकासबारे निरन्तर बहस हुँदै आएको छ । नेतृत्वको कार्यशैलीले परिणाम नदिँदा पार्टी नै संकटमा पुगेपछि दोस्रो तहका नेताहरु जुर्मुराउन थालेको देखिन्छ । खासगरी कार्यकर्ता तहबाटै एमाले लगायतका दलमा नेतृत्व परिवर्तन गर्नुपर्ने आवाज बलियो बनिरहेको छ । तर, शीर्ष तहका नेताहरूको नेतृत्वमै रहने लालसाले नेतृत्व परिवर्तनको विषय ओझेलमा परेको छ ।

केही समयअघि एमालेको सचिवालय बैठकमा अध्यक्ष ओलीको विकल्प खोजिएको थियो । ओली त्यतिबेला यो विषय मत्थर गर्न सफल भए । ओलीले केही नेताहरुलाई मत्थर बनाएपनि सिंगो पार्टीभित्र भने उनीप्रति असन्तुष्टि बढ्दै गइरहेको छ । एमालेभित्र विगतदेखि नै दोस्रो पुस्ताका नेताहरूले पुस्तान्तरणको आवश्यकता औंल्याउँदै आएका छन् । पार्टीले सुधारका कार्यक्रम अघि सारे पनि नेतृत्व परिवर्तनको विषय भने अझै निष्कर्षमा पुग्न सकेको छैन ।

ओलीले आफू नेतृत्वमै रहेर पार्टीलाई थप मजबुत बनाउने धारणा पटक–पटक व्यक्त गर्दै आएका छन् । तर, उनको कार्यशैली पार्टीभित्र भारी भइरहेको छ । खासगरी जेनजी आन्दोलनपछि भएको निर्वाचनमा पार्टीले जुन परिणाम भोग्यो त्यसले नै ओलीलाई समस्या थपेको छ ।