काठमाडौँ ।
पानी पर्न थालेपछि डेङ्गी सङ्क्रमणको जोखिम बढ्ने भएकाले आवश्यक सर्तकता अपनाउन इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले सबैमा अनुसारेध गरेको छ । महाशाखाका किटजन्य रोग शाखा प्रमुख डा गोकर्णप्रसाद दाहालले दैनिक पानी पर्न थालेपछि डेङ्गीको जोखिम पनि बढ्ने भएकाले सर्तकता अपनाउन सबैलाई आग्रह गर्नुभयो ।
“केही दिनअघि परेको पानीले डेङ्गी सङ्क्रमण बढाउने खतरा रहेको छ”, उहाँले भन्नुभयो, “आकाशबाट परेको पानी जम्मा हुँदा त्यसमा डेङ्गी सार्ने लामखुट्टेको विकास हुने गर्दछ । त्यही लामखुट्टेले डेङ्गी सार्ने गर्दछ ।” उहाँले पानी पर्न सुरु गरेकाले डेङ्गी सङ्क्रमणको जोखिम पनि बढ्ने बताउनुभयो । उहाँले डेङ्गीबाट बच्न आवश्यक सतर्कता अपनाउन सबैलाई आग्रह गर्नुभयो ।
असार ९ गतेदेखि १५ गतेसम्म ६३ जनामा डेङ्गी देखिएको जनाउँदै डा दाहालले अहिले दैनिक जस्तो पानी परिरहेकाले सडक, घर छेउछाउका पानी जम्नसक्ने खल्डाखुल्डीमा लामखुट्टेका प्रजाति विकसित हुनेहुँदा सङ्क्रमण बढ्न सक्ने बताउनुभयो । ड्ङ्गीबाट बच्न घर वरिपरिका खल्डाखुल्डीमा पानी जम्न नदिने, नियमित सरसफाइ गर्ने, सुत्ने बेला झुलको प्रयोग गर्नेलगायत उपाय अपनाउन सकिने उहाँले सुझाव दिनुभयो ।
कीटजन्य रोग शाखा प्रमुख डा दाहालका अनुसार डेङ्गी सङ्क्रमणको जोखिम असारदेखि कात्तिकसम्म कायम रहन्छ । “पानी जम्ने सफा ठाउँमा ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले फूल पार्दछ र ती फूलबाट लार्भा निस्कन्छ । त्यही लार्भा वयस्क भएर मानिसलाई टोकेपछि डेङ्गी रोग लाग्दछ । तसर्थ लामखुट्टेले फूल पार्नसक्ने सम्भावित ठाउँ पहिचान गरी सरसफाइमा विशेष ध्यान दिनु जरुरी छ”, उहाँले भन्नुभयो ।









प्रतिक्रिया दिनुहोस्