Logo १९ असार २०८३, शुक्रबार | Fri Jul 3 2026


अझै भेटिएन कर्णाली नदीमा खसेको गाडी

गाडी दुर्घटनामा ज्यान गुमाएका व्यक्तिको पहिचान खुल्याे

0
Shares

काठमाडौं । दैलेखमा बिहीबार गाडी दुर्घटनामा ज्यान गुमाएका व्यक्तिको पहिचान खुलेको छ ।

ज्यान गुमाउनेमा कालिकोटको पचालझरना गाउँपालिका–९ का ३५ वर्षीय जोखे तिरुवा रहेको प्रहरीले जनाएको हाे। भीरमा अचेत अवस्थामा फेला परेका उनलाई दैलेखको दुल्लू अस्पतालले मृत घोषणा गरेकाे छ। कर्णाली राजमार्गको दैलेख सडकखण्डमा दुर्घटना भइ कर्णाली नदीमा खसेको यात्रुबाहक गाडी हालसम्म भेटिएको छैन । सशस्त्र प्रहरी बल, नेपाल नं ६ महेश्वरी बाहिनी मुख्यालय सुर्खेतको ६ गोताखोरको टोलीले गाडीको खोजीकार्य जारी रहेकाे जनाएकाे हाे ।

पानीको सतह बढेको र वर्षापछि आएको बाढीले पानी धमिलो हुँदा गाडी खोज्न नसकिएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएकाे छ। राति भएकाले खोज तथा उद्धारको काम हुन नसकेको र शुक्रबर बिहानैदेखि पुनः खोज उद्धारको काम थाल्ने जनाइएकाे छ ।

सुर्खेत बसपार्कबाट बिहान छुट्दा गाडीमा पाँच जना रहेको भनिए पनि संख्या यकिन नभएको प्रहरीले बताएको हाे । प्रहरीले गाडी कर्णाली नदीमा डुबेको ठाउँ प्रहरी चौकी पाल्तडाबाट तीन किलोमिटर उत्तरतर्फ र जिल्ला प्रहरी कार्यालय दैलेखबाट ५० किलोमिटर पश्चिमतर्फ पर्ने प्रहरीले बताएकाे छ ।