Logo १७ असार २०८३, बुधबार | Wed Jul 1 2026


मेयरको घरमा भलपानी रोक्न सरकारी बजेट !


1k
Shares

काठमाडौं । आफ्नो पदको दुरुपयोग गर्दै व्यक्तिगत काममा नगरपालिकाको बजेट खर्च गरिएको आरोप टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीमाथि लागेको छ।

स्थानीयका अनुसार आर्थिक वर्षको अन्त्यतिर विकास बजेट व्यक्तिगत हितका लागि प्रयोग गरिएको भन्दै उनीमाथि गम्भीर प्रश्न उठेको हो।

स्थानीयका अनुसार मेयर अधिकारीले आफ्नो घरमा डाँडातर्फबाट भलपानी पस्ने समस्या देखाउँदै वडा नं. १० को बजेटबाट सार्वजनिक बाटोमै च्याम्बर निर्माण गराएका छन्। यसका लागि महेन्द्रेश्वर मन्दिर जाने सार्वजनिक बाटो करिब १० दिनसम्म बन्द गरिएको बताइएको छ।

एक स्थानीयले भने, “मेयरको घरमा भलपानी पस्ने समस्या भए आफ्नै खर्चमा बाउन्ड्री वा पर्खाल निर्माण गर्नुपर्ने हो। तर सार्वजनिक रकम प्रयोग गरेर आफ्नो व्यक्तिगत समस्या समाधान गर्न खोजिएको छ। धार्मिक स्थल जाने बाटो नै बन्द गराएर वडा बजेट खर्च गरिनु पदको चरम दुरुपयोग हो।”

स्थानीयहरूले वडा नं. १० का वडाध्यक्ष मचाकाजी महर्जनलाई समेत यस कार्यमा संलग्न रहेको आरोप लगाएका छन्। उनीहरूका अनुसार सार्वजनिक हितभन्दा व्यक्तिगत स्वार्थलाई प्राथमिकता दिँदै वडा बजेट खर्च गरिएको हो।

यस विषयमा सम्बन्धित निकायले घटनाको निष्पक्ष छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्नुपर्ने र दोषी देखिए मेयर प्रकाश अधिकारी तथा वडाध्यक्ष मचाकाजी महर्जनमाथि कानुनबमोजिम कारबाही गर्नुपर्ने माग स्थानीयवासीले गरेका छन्।