Logo ६ श्रावण २०८३, बुधबार | Wed Jul 22 2026


गल्याङ नगरपालिकाद्वारा २३ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ–दहीचिउरा कार्यक्रम सम्पन्न


325
Shares

सागर न्यौपाने,स्याङ्जा ।

स्याङ्जाको गल्याङ नगरपालिकाले २३औँ राष्ट्रिय धान दिवस तथा दहीचिउरा खाने दिवस विविध कार्यक्रम गरी मनाएको छ।

कृषि उत्पादन वृद्धि, किसानको सम्मान तथा परम्परागत कृषि संस्कृतिको संरक्षण गर्ने उद्देश्यले आयोजित कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी, किसान तथा स्थानीयवासीको उत्साहजनक सहभागिता रहेको थियो।

असार १५ अर्थात् राष्ट्रिय धान दिवस। यही अवसरमा गल्याङ नगरपालिकाले सामूहिक धान रोपाइँ गर्दै २३औँ राष्ट्रिय धान दिवस तथा दहीचिउरा खाने दिवस मनाएको छ। कार्यक्रममा नगर प्रमुख, उपप्रमुख, वडाध्यक्ष, जनप्रतिनिधि, कर्मचारी, कृषि प्राविधिक तथा किसानहरूले खेतमै धान रोप्दै कृषिको महत्त्व र खाद्य सुरक्षामा जोड दिएका थिए।

सहभागीहरूले कृषिलाई सम्मानजनक पेशाका रूपमा विकास गर्दै आधुनिक तथा व्यवसायिक खेतीलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका छन्। कार्यक्रमको अन्त्यमा सहभागीहरूले परम्पराअनुसार दही–चिउरा ग्रहण गर्दै राष्ट्रिय धान दिवस मनाएका थिए । कृषि उत्पादन वृद्धि र किसानको मनोबल उच्च बनाउन यस्ता कार्यक्रमले सकारात्मक सन्देश दिने अपेक्षा गरिएको छ।