एजेन्सी ।
अत्यधिक गर्मीका कारण युरोपमा एक हप्ताको अवधिमा १,३०० भन्दा बढीको मृत्यु भएको छ ।
विश्वको औसत तापक्रमभन्दा झण्डै दोब्बरका दरले बढिरहेको युरोपमा गर्मीका कारण ज्यान जानेको संख्या डरलाग्दो भएको विश्व स्वास्थ्य संगठनले जनाएको हो । युरोपको तापक्रमले दैनिक नयाँ–नयाँ कीर्तिमान कायम गरिरहँदा स्वास्थ्य संकट समेत गहिरिँदै गएको छ ।
गर्मीका कारण फ्रान्समा मात्रै बुधवारयता झण्डै १ हजार जनाले ज्यान गुमाएका छन् । फ्रान्सको स्वास्थ्य मन्त्रालयका अनुसार तीमध्ये धेरै ६५ वर्षभन्दा माथिका नागरिक रहेका छन् । गर्मीबाट राहत खोज्ने क्रममा नदी, ताल र पोखरीजस्ता असुरक्षित जलाशयमा पौडी खेल्ने क्रममा डुबेर कम्तीमा ७४ जनाको ज्यान गएको छ ।
अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाए अनुसार हिजो मात्रै जर्मनीमा कोस्चेनमा ४१.७ डिग्री सेल्सियस तापक्रम मापन गरिएको छ, जुन त्यहाँको नयाँ कीर्तिमान हो । यसैगरी पोल्याण्डले पनि ४०.५ डिग्री सेल्सियस अहिलेसम्मकै उच्च तापक्रम रेकर्ड गरेको छ भने चेक गणतन्त्रमा ४१.१ डिग्री सेल्सियस तापक्रम मापन गरिएको छ ।
विशेषज्ञहरूका अनुसार यसपटकको गर्मीको मुख्य कारण ‘हीट डोम’ नामक मौसमी प्रणाली हो ।









प्रतिक्रिया दिनुहोस्