Logo १३ असार २०८३, शनिबार | Sat Jun 27 2026


यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका लागि ‘प्राइड’ परियोजना


91
Shares

काठमाडौं ।
यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको अधिकार, समावेशीकरण, मर्यादा र राजनीतिक सहभागितालाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ ‘प्राइड’ परियोजना शुरु भएको छ ।

युरोपेली सघ ७५ प्रतिशत र डिसिए नेपालको २५ प्रतिशत साझेदारीमा शुरु भएको ‘प्राइड’ परियोजना मधेस, लुम्बिनी, वागमती र सुदूरपश्चिम प्रदेशमा सञ्चालन गरिनेछ । परियोजनाबाट प्रत्यक्ष रूपमा ६ हजार ८ सय १० र अप्रत्यक्ष रूपमा ९८ हजार ३ सय ५० गरी कुल करिव १ लाख ५ हजार १ सय ६० जनालाई लाभान्वित हुने बताइएको छ ।

विद्यमान ऐनले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायलाई दिएको अधिकार स्थापित गर्दे मर्यादित र समावेशी जीवन जीउने आधार तयार गर्ने सन्र्दभमा परियोजनाका गतिविधि केन्द्रीत हुने बताइएको छ । डिसिए नेपालले शुक्रवार ललितपुरमा विभिन्न सरोकारवाला सहितको सहभागितामा परियोजना शुरुवात भएको जानकारी गराइएको छ ।

परियोजना अन्तर्गत मतदाता शिक्षा, राजनीतिक नेतृत्वसँग मेन्टरसिप, कानूनी अड्चनहरूको समीक्षा, संसद तथा निर्वाचन आयोगसँग नीति संवाद र राजनीतिक दलहरूलाई समावेशी विधान तथा घोषणापत्र सह–निर्माण गर्न प्राविधिक सहयोग गर्ने जस्ता गतिविधिहरू सञ्चालन गरिनेछन् ।

यस अभियानमा नागरिक समाज, निर्वाचन आयोग, मानव अधिकारवादी संस्था, सञ्चारमाध्यम र राजनीतिक दलहरूलाई मुख्य सरोकारवालाका रूपमा जोड्दै देशको राजनीतिक संरचनामा अल्पसङ्ख्यक समुदायको अर्थपूर्ण प्रतिनिधित्व सुनिश्चित गर्ने लक्ष्य राखिएको छ ।

परियोजनाले यो समुदायप्रतिको सामाजिक विभेद, कलंक र भेदभावको अन्त्य गरी अन्य नागरिक सरह राजनीतिमा सहभागी हुने वातावरण निर्माण गर्न परियोजनाले महत्वपुर्ण भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ ।