Logo १३ असार २०८३, शनिबार | Sat Jun 27 2026


होर्मुजमा मालवाहक जहाजमाथि हमला भएपछि इरानमाथि अमेरिकाको हवाई आक्रमण


0
Shares

एजेन्सी ।

होर्मुज जलसन्धिमा एक व्यापारिक जहाजमाथि इरानले ड्रोन आक्रमण गरेको आरोप लगाउँदै अमेरिकी सेनाले शुक्रवार इरानी सैन्य ठेगानाहरूमा हवाई आक्रमण गरेको छ ।

अमेरिकी सेन्ट्रल कमान्डका अनुसार इरानी क्षेप्यास्त्र तथा ड्रोन भण्डारण स्थल र तटीय राडार केन्द्रहरूलाई लक्षित गरी गरिएको यो कारबाही अघिल्लो दिन भएको आक्रमणको सशक्त जवाफ हो ।

सेन्ट्रल कमान्डले सामाजिक सञ्जाल एक्समार्फत जारी गरेको विज्ञप्तिमा इरानले व्यापारिक जहाजमाथि गरेको ड्रोन आक्रमणले युद्धविरामको स्पष्ट उल्लंघन गर्नुका साथै महत्वपूर्ण अन्तर्राष्ट्रिय व्यापारिक मार्गमा नौवहन स्वतन्त्रताको समेत अवहेलना गरेको उल्लेख गरेको छ ।

कमान्डले जलसन्धि भएर यात्रा गर्ने व्यापारिक जहाजहरूलाई सुरक्षित मार्ग समन्वय र सहयोग प्रदान गरिरहने प्रतिवद्धता व्यक्त गर्दै हालै सम्पन्न अमेरिका–इरान शान्ति सम्झौताको पूर्ण पालना सुनिश्चित गर्न आफूहरू चनाखो रहने जनाएको छ ।

यसअघि शुक्रवार नै अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानले बिहीवार उक्त कार्गो जहाजमा कम्तीमा चारवटा वान–वे अट्याक ड्रोन प्रहार गरेको जानकारी दिनुभएको थियो । राष्ट्रपति ट्रम्पकाअनुसार एउटा ड्रोन जहाजको माथिल्लो भागमा ठोक्किएर क्षति पु¥याए पनि जहाजले आफ्नो यात्रा जारी राख्न सफल भएको थियो भने अन्य तीनवटा ड्रोनलाई अमेरिकी सेनाले खसालिदिएको थियो ।

अमेरिका र इरानबीच हालै भएको समझदारी पत्रमा होर्मुज जलसन्धिलाई पुनः सञ्चालन गर्ने उल्लेख गरिएको छ । विश्वको करिव २० प्रतिशत तेल र तरल प्राकृतिक ग्यास ढुवानी हुने यो महत्वपूर्ण जलमार्गमा ६० दिनसम्म व्यापारिक जहाजहरूलाई बिना कुनै शुल्क आवतजावत गर्न दिने सम्झौतामा सहमति भएको थियो ।

पछिल्लो तथ्याङ्कअनुसार समझदारीपछि जलसन्धिमा यातायातको चापमा केही सुधार देखिए पनि यो अझै युद्धपूर्वको अवस्थामा भने फर्कन सकेको छैन ।