Logo १३ असार २०८३, शनिबार | Sat Jun 27 2026


भेनेजुएला भूकम्प अपडेट : मृत्यु हुनेको संख्या ९२० पुग्यो


130
Shares

काठमाडौं । भेनेजुएलामा गएको विनाशकारी भूकम्पमा परी मृत्यु हुनेको संख्या ९२० पुगेको छ । भूकम्पमा तीन हजार ३६० जना घाइते भएका छन् ।

उद्धारकर्मीहरू भग्नावशेषमा जीवित व्यक्तिहरूको खोजीमा निरन्तर जुटिरहेका छन् । राजधानी काराकाससहित देशको उत्तरी क्षेत्रमा दर्जनौँ भवन ध्वस्त भएका छन् । घाइतेहरूको उपचार अस्थायी रूपमा स्थापना गरिएका स्वास्थ्य शिविरहरूमा भइरहेको छ ।

सरकारका एक वरिष्ठ अधिकारीका अनुसार सयौँ अन्तर्राष्ट्रिय उद्धारकर्मी भेनेजुएला आइपुगिसकेका छन् । थप टोलीहरू आउने क्रममा छन् । गत बुधबार भेनेजुएलामा केही सेकेन्डको अन्तरालमा दुईवटा शक्तिशाली भूकम्पका धक्का महसुस गरिएका थिए ।

सरकारी अधिकारीहरूका अनुसार राजधानीको उत्तरमा रहेको ला गुएरा क्षेत्र सबैभन्दा बढी प्रभावित भएको छ । यही क्षेत्रमा देशका दुई प्रमुख बन्दरगाहमध्ये एक तथा प्रमुख विमानस्थल ‘सिमोन बोलिभार अन्तर्राष्ट्रिय विमानस्थल’ अवस्थित छन् ।

भूकम्पपछि अझै धेरै मानिस बेपत्ता रहेकाले र उद्धार कार्य जारी छ । मृतकको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ ।