Logo १० भाद्र २०८३, बुधबार | Wed Aug 26 2026


सरकारका पछिल्ला गतिविधिका कारण संवैधानिक निकायमा हस्तक्षेप: प्रमुख सचेत ओली

मुलुकको सार्वभौमिकता र संस्थागत स्थायित्वमाथि गम्भीर प्रश्न खडा

26
Shares

काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की प्रमुख सचेतक खुश्बु ओलीले सरकारका पछिल्ला गतिविधिले संवैधानिक मर्यादा, मुलुकको सार्वभौमिकता र संस्थागत स्थायित्वमाथि गम्भीर प्रश्न खडा गरेको बताउनुभएको छ ।

प्रतिनिधि सभाको बैठकमा विशेष समय लिएर बोल्दै प्रमुख सचेतक ओलीले यस्ताे बताउनुभएकाे हाे । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाटै संवैधानिक निकायको स्वतन्त्रतामाथि हस्तक्षेप भइरहेको आरोप लगाउनुभयाे। प्रमुख सचेतक ओलीले प्रधानमन्त्री कार्यालयका सल्लाहकार तथा सहयोगीहरूले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पदाधिकारीहरूलाई ९ घण्टासम्म नियन्त्रणमा लिएर दबाब दिएको भन्ने समाचार सार्वजनिक भएको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभएकाे छ।

प्रमुख सचेतक ओलीले राज्यका विभिन्न मन्त्रालय र प्रधानमन्त्री कार्यालयमा निजी सचिवालयको प्रभाव अस्वाभाविक रूपमा बढेको उल्लेख गर्नुभएकाे छ। जसले स्थायी प्रशासनिक संयन्त्रलाई कमजोर बनाएको टिप्पणी गर्नुभयो। उहाँले विधि र प्रक्रिया भन्दा व्यक्तिनिष्ठ प्रभावलाई प्राथमिकता दिने प्रवृत्तिले संस्थागत स्मृति र प्रशासनिक निरन्तरतामा गम्भीर सङ्कट पैदा गरेको जिकिर गर्नुभएकाे छ ।

कूटनीतिक क्षेत्रमा समेत सरकारको भूमिका फितलो देखिएको भन्दै उहाँले नेपालको दशकौं देखिको प्रतिष्ठामा आघात पुगेको बताउनुभयो । कूटनीतिक नियोगका प्रतिनिधिहरूको मर्यादामा प्रश्न उठ्ने गरी व्यवहार भएको भन्दै उहाँले अन्तर्राष्ट्रिय समुदायमा नेपालको छवि धुमिल हुन सक्नेप्रति चिन्ता व्यक्त गर्नुभएकाे छ।

त्यसैगरी, परराष्ट्रमन्त्री शिशिर खनालले संसदमा दिएको अभिव्यक्तिप्रति असहमति जनाउँदै प्रमुख सचेतक ओलीले कुवेतको सफर जेलमा रहेका नेपाली महिलाहरूको सङ्ख्याबारे मन्त्रालयको तथ्यांक गलत रहेको दावी गर्नुभयो । परराष्ट्रमन्त्री खनालले सात जना मात्र महिला जेलमा रहेको बताए पनि आफूसँग २४ घण्टाअघि मात्रै सोही जेलबाट फर्किएका नेपाली चेलीहरूको प्रत्यक्ष प्रमाण रहेको उहाँले बताउनुभएकाे छ ।

प्रमुख सचेतक ओलीले राज्यका संस्थाहरू बलियो भए मात्र लोकतन्त्र बलियो हुने भन्दै सरकारलाई व्यक्ति केन्द्रित शासन छोडेर विधि र संस्थागत उत्तरदायित्वको बाटोमा फर्कन आग्रह गर्नुभयो ।