काठमाडाैं । गुल्मीको छल्दी–रातडाँडा सडक मंगलबारदेखि १६ दिनसम्म बन्द हुने भएको छ।
सडक पूर्वाधार विकास कार्यालय गुल्मी अन्तर्गत सञ्चालित छल्दी–पनाहा–इन्द्रगौँडा सडक स्तरोन्नति आयोजनाको निर्माण कार्यका क्रममा सडक खण्डमा जोखिम बढेपछि यस खण्डमा सवारी आवागमन पूर्णरुपमा बन्द गरिएको हो। जिल्ला प्रशासन कार्यालय गुल्मीले यस सडक खण्डको स्याल पहरो क्षेत्रमा भीर काट्ने (अर्थवर्क कटिङ) कार्य गर्दा ढुङ्गा सडकमा खस्ने उच्च जोखिम रहेकाले आज असार ३ गतेदेखि असार १८ गतेसम्म चौबीसै घण्टा सवारी आवागमन बन्द गरी काम गर्नुपर्ने भएको जनाएकाे छ ।
सडक पूर्वाधार विकास कार्यालय गुल्मीको पत्र अनुसार यात्रु तथा सवारी साधनको सुरक्षालाई मध्यनजर गर्दै प्रशासनले उक्त अवधिभर सो सडक खण्डबाट चल्ने सवारी साधनहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरिएको हाे । कार्यालयले वैकल्पिक सडकका रूपमा तम्घास–बाँझेछेडा–रातडाँडा सडक तथा तम्घास–अर्खले–खोरपाटा–डाँडाखर्क–रातडाँडा सडक प्रयोग गर्न आग्रह गरेको छ।
सडक निर्माण कार्यलाई सुरक्षित तथा छिटो सम्पन्न गर्नका लागि सर्वसाधारण र यातायात व्यवसायीलाई तोकिएका वैकल्पिक मार्ग प्रयोग गरी आवागमन गर्न गराउन प्रशासनले विशेष आग्रह गरेको हाे।









प्रतिक्रिया दिनुहोस्