Logo २६ जेष्ठ २०८३, मंगलबार | Tue Jun 9 2026


रुपन्देही क्रिकेट संघको अध्यक्षमा थापा पुनः निर्वाचित

प्रतिद्वन्द्वी शक्ति गौचन भने २० मतान्तरले पराजित

13
Shares

काठमाडाैं । रुपन्देही क्रिकेट संघको ३०औं वार्षिक साधारणसभा तथा पाँचौं अधिवेशनबाट हरि बहादुर थापा पुनः अध्यक्षमा निर्वाचित भएका छन्।

साेमबार राति सम्पन्न मतगणना अनुसार कूल १ सय १९ मतमध्ये थापाले ६९ मत प्राप्त गर्दै आफ्ना निकटतम प्रतिद्वन्द्वी शक्ति गौचनलाई २० मतान्तरले पराजित गरेका हुन् । गौचनले ४९ मत प्राप्त गरेका छन्। चार वर्षअघि भएको निर्वाचनमा पनि थापासँग गौचन पराजित भएका थिए । यस पटकको निर्वाचनमा थापा र गौचन आ–आफ्नो प्यानल बनाएरै चुनावी प्रतिस्पर्धामा उत्रिएका थिए ।

उपाध्यक्ष पदमा खेमराज भुसाल ६९ मतसहित विजयी भएका हुन् । उनका प्रतिस्पर्धी सञ्जीव जोशीले ५० मत प्राप्त गरेका हुन्। सचिव पदमा उदय कुमार मल्लिक ६८ मतसहित निर्वाचित हुँदा प्रथम पराजुलीले ५१ मत प्राफ्त गरेका थिए ।

कोषाध्यक्षमा धीरज अधिकारी क्षेत्री निर्वाचित भएका छन् । मतदान अधिकृत प्रकाश न्यौपानेले महिला सदस्यमा उमा अधिकारी तथा अन्य सदस्यहरूमा प्रशान्तविक्रम मल्ल, नीरजप्रताप खाँण, पुनित पोखरेल, मनोज भण्डारी, भुवन पाण्डे, विजयसिंह ज्ञवाली, कृष्णकुमार कुँवर, ज्वालेसप्रसाद प्रधान, अन्तिम थापा र ताराप्रसाद पाठक निर्वाचित भएकाे बताउका हुन् ।

गौचन र थापा दुवै पक्ष स्पष्ट प्यानलसहित चुनावी मैदानमा उत्रिएपछि जिल्लाका कतिपय खेलप्रेमीहरूले भने क्रिकेटको विकासका लागि यसरी प्यानलगत रूपमा विभाजन हुन नहुने धारणा राखेका थिए ।