काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भारत भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सँग नयाँ दिल्लीमा भेटवार्ता गरेका छन्।
भारतको सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) को निमन्त्रणामा भारत भ्रमणमा रहेका लामिछानेले बुधबार प्रधानमन्त्री मोदीसँग भेट गरेको भारतीय तथा नेपाली सञ्चारमाध्यमहरूले जनाएका छन्।
भेटमा नेपाल–भारत सम्बन्ध, आपसीहित, लोकतान्त्रिक अभ्यास, क्षेत्रीय सहकार्य तथा दुई देशबीचको जनस्तरीय सम्बन्धका विषयमा छलफल भएको बताइएको छ।
रास्वपाले यसअघि सार्वजनिक गरेको भ्रमण तालिकाअनुसार लामिछाने जेठ १८ देखि २२ गतेसम्म भारत भ्रमणमा छन्। भ्रमणका क्रममा उनले भारतीय विदेशमन्त्री एस जयशंकर, भाजपा अध्यक्ष नितिन नवीन लगायत भारतीय राजनीतिक नेतृत्वसँग पनि भेटवार्ता गरेका छन्।
भाजपा मुख्यालयमा लामिछानेलाई विशेष स्वागत गरिएको थियो। भ्रमणलाई नेपाल–भारतबीचको राजनीतिक तथा कूटनीतिक संवादलाई थप सुदृढ बनाउने प्रयासका रूपमा हेरिएको छ। स्रोतहरूका अनुसार प्रधानमन्त्री मोदीसँगको भेट लामिछानेको भारत भ्रमणको सबैभन्दा महत्वपूर्ण कार्यक्रममध्ये एक मानिएको छ।
यद्यपि भेटपछि दुवै पक्षले विस्तृत संयुक्त वक्तव्य भने सार्वजनिक गरेका छैनन्। रास्वपा नेतृत्वको यो भ्रमणलाई नेपालको नयाँ राजनीतिक नेतृत्व र भारतबीचको सम्बन्धको नयाँ अध्यायका रूपमा समेत विश्लेषण गरिएको छ।










प्रतिक्रिया दिनुहोस्