काठमाडौं। नेपाली पुरुष क्रिकेट टोली जापानको नागोयामा हुने एशियाली खेलकुदमा छनोट भएको छ ।
भरतको सिङ्गापुरमा मंगलबार भएको समूह ‘ए’ को खेलमा मलेशियाले चीनलाई पराजित गरेपछि मलेशियासँगै नेपाल पनि छनोट भएको हो । चीनले दिएको ८५ रनको लक्ष्य मलेशियाले ७ ओभर ५ बलमा १ विकेट गुमाएर भेटाएको छ। मलेशियाका मोहम्मद हाजिक आइमानले नटआउट ४४ रन बनाएका थिए । चीनका तियान सेन क्युनले १ विकेट लिएका छन् । यसअघि टस हारेर ब्याटिङ गरेको चीनले २० ओभरमा ९ विकेट गुमाएर ८४ रन बनायो ।
चीनका जोङ्ग युएचाओले २९ रन बनाएका छन्। मलेशियाका विजय उन्नीले ४ विकेट लिएका थिए । यसअघि आइतबार भएको खेलमा नेपालले चीनलाई २ सय २१ रनको फराकिलो अन्तरले पराजित गरेको थियो । अब यहि जेठ २१ गते हुने नेपाल र मलेशियाबीचको खेलले समूह विजेता टुङ्गो लाग्ने भएको छ ।
समूह ‘बी’ बाट सेमिफाइनलमा पुग्ने टोलीको टुङ्गो लाग्न बाँकी रहेको आयोजकले जनाएको हो । कतारले नाम फिर्ता लिएपछि समूह ‘ए’ मा नेपाल, मलेसिया र चीन रहेका छन् । समूह ‘बी’ मा बहराइन, हङकङ, ओमान र सिङ्गापुर रहेका हुन् ।
समूहका शीर्ष दुई टोली एशियाली खेलकुदमा छनोट हुने प्रावधान रहेको छ । नेपाली महिला क्रिकेट टोली भने एशियाली खेलकुदमा छनोट हुन असफल भएको थियो ।










प्रतिक्रिया दिनुहोस्