काठमाडौं । सरकारले भूमि समस्या समाधान आयोगको अध्यक्षमा बलभद्र बास्तोलालाई नियुक्त गरेको छ ।
मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले बास्तोलालाई आयोगको अध्यक्षमा नियुक्त गरिएको जानकारी दिएका हुन् ।
उनका अनुसार आयोगको सदस्यमा अमिरप्रसाद न्यौपाने, पद्मनीति सोतुङ र डा. रोना श्रेष्ठलाई नियुक्त गरिएको छ ।
त्यसैगरी, बैठकले सशस्त्र प्रहरी बलका प्रहरी नायव महानिरीक्षक (डीआईजी) अञ्जनीकुमार पोखरेललाई अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवा गर्ने निर्णय पनि गरेको छ ।
सरकारले संयुक्त राष्ट्रसंघीय वातावरण कार्यक्रम (यूएनईपी) अन्तर्गत ओजन तहलाई हानि पुर्याउने पदार्थको व्यवस्थापन तथा न्यूनीकरणसम्बन्धी मोन्ट्रियल प्रोटोकल कार्यान्वयनसम्बन्धी सम्झौता स्वीकृत गर्ने निर्णय समेत गरेको छ ।
प्रवक्ता पोखरेलका अनुसार २०८२ साल भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा भएको घटनाबारे छानबिन गर्न गठित आयोगको प्रतिवेदनमा उल्लेखित सुरक्षा संयन्त्रसम्बन्धी विषय अध्ययन गरी सिफारिस गर्न बनाइएको समितिको कार्यअवधि ४५ दिन थप गरिएको छ ।
मन्त्रिपरिषद् बैठकले विभिन्न नीतिगत तथा प्रशासनिक निर्णयहरू गर्दै कार्यान्वयन प्रक्रियालाई अघि बढाउने निर्णय गरेको उनले बताए ।










प्रतिक्रिया दिनुहोस्