Logo १८ जेष्ठ २०८३, सोमबार | Mon Jun 1 2026


प्रधानमन्त्रीको अभिव्यक्तिप्रति एमाले सांसद बरालको आपत्ति- तथ्य पेस गर्न वा माफी माग्न माग


117
Shares

काठमाडौँ । नेकपा (एमाले) का सांसद गुरु बरालले प्रधानमन्त्री बालेन्द्र साहले नेपालको सीमानाका विषयमा दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् ।

संसद भवन परिसरमा सोमवार सञ्चारकर्मीहरूसँग कुरा गर्दै उहाँले प्रधानमन्त्री देशको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र नागरिकप्रति जिम्मेवार हुनुपर्नेमा जोड दिँदै सीमा विवादका सम्बन्धमा प्रधानमन्त्रीले जिम्मेवार भएर प्रस्तुत हुनुपर्ने बताएका हुन् ।

सांसद बरालले नेपालले छिमेकी राष्ट्रको भूमि मिचेको भन्ने आशयको प्रधानमन्त्रीको भनाइप्रति प्रश्न उठाए । नेपालको ऐतिहासिक स्वतन्त्रताको चर्चा गर्दै बरालले नेपाल भारतभन्दा अगाडि नै स्वतन्त्र राष्ट्र रहेको र यसले कहिल्यै अर्काको पराधीनता स्वीकार नगरेका कारण स्वतन्त्रता दिवस मनाउनु नपर्ने तथ्य उल्लेख गरे ।

सुगौली सन्धिपश्चात मेचीदेखि महाकालीसम्मको जुन भूगोल कायम भएको छ, सो क्षेत्रभित्र नेपालले कसैको पनि सिमाना नमिचेको उनले प्रस्ट पारे ।

सांसद बरालले प्रधानमन्त्रीको उक्त अभिव्यक्तिले देशको गरिमा र राष्ट्रिय स्वार्थमा आँच पुर्याएको भन्दै यसको आधिकारिक पुस्ट्याइँ गर्न चुनौती दिए । यदि प्रधानमन्त्रीले आफ्नो भनाइको तथ्यपूर्ण पुस्ट्याइँ गर्न नसकेमा नैतिक रूपमा जिम्मेवारी लिँदै संसद र देशसामु माफी माग्नुपर्ने उनको माग छ ।

आफूहरूको योजना सदनमा निरन्तर अवरोध गर्ने नभई राष्ट्रियताका गम्भीर विषयमा सरकारलाई जिम्मेवार बनाउनु रहेको समेत उनले स्पष्ट पारे ।