Logo १२ जेष्ठ २०८३, मंगलबार | Tue May 26 2026


राष्ट्रिय पुरूष तथा महिला क्रिकेट खेलाडीको नयाँ वर्गीकरण सार्वजनिक

नयाँ वर्गीकरणले राष्ट्रिय क्रिकेट संरचना थप व्यवस्थित बनाउने क्यानकाे अपेक्षा

0
Shares

काठमाडाैं । नेपाल क्रिकेट संघ (क्यान) ले सन् २०२६ का लागि राष्ट्रिय पुरुष तथा महिला क्रिकेट खेलाडीहरूको नयाँ वर्गीकरण सार्वजनिक गरेको छ ।

क्यानले यसपटक पहिलो पटक ‘ए प्लस’ श्रेणी समावेश गर्दै समग्र प्रणाली पुनर्संरचना गरिएको जनाएकाे हाे । सार्वजनिक गरेको सूची अनुसार कूल ३८ जना पुरुष खेलाडीलाई पाँच विभिन्न श्रेणीमा समावेश गरिएको छ। गत वर्षहरूमा ‘ए प्लस’ श्रेणी नरहेकोमा यस वर्षदेखि उच्चतम स्तरको रूपमा उक्त श्रेणी लागू गरिएको हो ।

नयाँ ए प्लस श्रेणीमा एक दिवसीय टोलीका कप्तान रोहित पौडेल, टी–२० टोलीका कप्तान दीपेन्द्र सिंह ऐरी तथा राष्ट्रिय टोलीका स्पिनर सन्दीप लामिछाने समावेश छन् । ए श्रेणीमा सोमपाल कामी, कुशल भुर्तेल, आसिफ शेख र करण केसी रहेका हुन् ।

त्यसैगरी महिला तर्फ ए श्रेणीमा पर्ने खेलाडीहरुमा इन्दु बर्मा, पूजा महतो, रुविना क्षेत्री र सीता राना मगर रहेका छन् । बी श्रेणीमा कविता कुँवर, सम्झाना खड्का र मनिषा उपाध्याय रहेका हुन् । योसहित सी र डी श्रेणी मा समावेश भएकासहित २५ जना महिला खेलाडीको वर्गीकरण गरिएको छ । क्यानले ए प्लस श्रेणीमा परेका पुरुष खेलाडीहरूले मासिक १ लाख २० हजार रुपैयाँ पारिश्रमिक प्राप्त गर्ने व्यवस्था गरिएको जनाएकाे हाे ।

साथै महिला खेलाडीहरूतर्फ ‘ए’ श्रेणीमा रहेका खेलाडीको मासिक तलब ५५ हजार रुपैयाँ निर्धारण गरिएको छ । क्यानले मासिक तलबका अतिरिक्त ‘म्याच फी’ को समेत व्यवस्था गरेको हाे । जसअनुसार टी-२० अन्तर्राष्ट्रियतर्फ प्रतिखेल १० हजार रुपैयाँ र एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) तर्फ प्रतिखेल १५ हजार रुपैयाँ म्याच फी प्राप्त गर्नेछन् ।

नयाँ वर्गीकरणले राष्ट्रिय क्रिकेट संरचनामा खेलाडी प्रोत्साहन र व्यवस्थापन प्रणालीलाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको क्यानले जनाएकाे हाे ।