Logo २४ जेष्ठ २०८३, आइतबार | Sun Jun 7 2026


जातीय विभेद र दलित हत्याविरुद्ध माइतीघरमा प्रतिरोध प्रदर्शन


13
Shares

काठमाडौं । जात व्यवस्थाले निम्त्याएको तहगत उत्पीडन, श्रृङ्खलाबद्ध हत्या तथा ऐतिहासिक विभेदविरुद्ध काठमाडौंको माइतीघर मण्डलामा प्रतिरोधात्मक प्रदर्शन गरिएको छ ।

जात व्यवस्था उन्मूलन मोर्चा नेपाल प्रथम राष्ट्रिय सम्मेलन आयोजक समितिको संयोजनमा आयोजित प्रदर्शनमा देशभरबाट उत्पीडित समुदायका नागरिक, बौद्धिक वर्ग तथा मानवअधिकारकर्मीहरूको सहभागिता रहेको थियो ।

प्रदर्शनकर्ताहरूले ६ वर्षअघि अन्तरजातीय प्रेमका कारण रुकुम सोतीमा हत्या गरिएका नवराज विकसहित ६ जना युवाको स्मृतिमा ‘ऐतिहासिक विद्रोह दिवस’ घोषणा गर्दै न्यायको माग गरेका छन् ।

¥यालीमा सहभागी युवा अधिकारकर्मीहरूले “अन्तरजातीय प्रेमकै कारण ज्यान गुमाउनुपर्ने यो कस्तो गणतन्त्र हो रु” भन्दै आक्रोश व्यक्त गरेका थिए ।

उनीहरूले “हाम्रो श्रम चल्ने, रगत र पसिना चल्ने तर हाम्रो छोराले छोरी मन पराउँदा खोलामा बगाइने बर्बर जातिवादी मानसिकताको अन्त्य विना लोकतन्त्र अधुरो छ” लगायतका सन्देश लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

प्रदर्शनमा सहभागीहरूले भूमिहीन दलितलाई खेतीयोग्य जमिन उपलब्ध गराउन, दलित विद्यार्थीका लागि छात्रवृत्तिसहित निःशुल्क शिक्षा सुनिश्चित गर्न तथा दलित हत्याकाण्डको न्यायिक छानबिनका लागि उच्चस्तरीय स्वतन्त्र आयोग गठन गर्न सरकारसँग माग गरेका छन् ।