Logo २४ जेष्ठ २०८३, आइतबार | Sun Jun 7 2026


असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्न सभापतिलाई शशाङ्क कोइरालाको सुझाव


390
Shares

कास्की । नेपाली कांग्रेसका नेता शशाङ्क कोइरालाले पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्नुपर्नेमा जोड दिनुभएको छ।

नेपाली कांग्रेसको बृहत् एकता र भावी कार्यदिशासम्बन्धी गण्डकी प्रदेशस्तरीय भेला एवं विचार गोष्ठीलाई आज पोखरामा सम्बोधन गर्दै नेता कोइरालाले पार्टी बलियो भए मात्र नेता तथा कार्यकर्ता बलियो बन्ने बताउनुभयो।

“मलाई कुनै पद चाहिँदैन, पार्टी एक हुनुपर्‍यो,” भन्दै उहाँले पार्टी सभापतिले विचार, कर्तव्य र आचरणमार्फत पार्टीलाई एक ढिक्का बनाउनुपर्ने धारणा राख्नुभयो।

उहाँले जननेता बीपी कोइराला ले आफू प्रधानमन्त्री बन्ने अवसर हुँदा पनि सुवर्ण शमशेर राणा लाई प्रधानमन्त्रीको प्रस्ताव गरेको उदाहरण प्रस्तुत गर्दै वर्तमान नेतृत्वले पनि त्यस्तै उदारता देखाउनुपर्ने संकेत गर्नुभयो।

नेता कोइरालाले पार्टी सभापति गगनकुमार थापा विशेष महाधिवेशनमार्फत सभापति बन्न हतारिएको टिप्पणी समेत गर्नुभयो।

कार्यक्रममा कांग्रेसका पूर्वकेन्द्रीय सदस्य किरण पौडेल ले पार्टीभित्र एकताको आवश्यकता रहेको बताउँदै नियमित महाधिवेशनको पक्षमा रहे पनि एक्कासी विशेष महाधिवेशन गरिएकोप्रति असन्तुष्टि जनाउनुभयो।

त्यस्तै, पूर्वकेन्द्रीय सदस्य एवं पूर्वमन्त्री सरस्वती अर्याल ले दूरदर्शी नेताहरूलाई पन्छाएर पार्टी अघि बढ्न नसक्ने बताउँदै सभापति थापालाई सबै पक्षलाई समेटेर अघि बढ्न आग्रह गर्नुभयो।