Logo ७ जेष्ठ २०८३, बिहिबार | Thu May 21 2026


विपद जोखिम न्यूनिकरणका लागि समुदायस्तरको सचेतना र पूर्वतयारी आवश्यक: मुख्यमन्त्री पाण्डे


0
Shares

काठमाडाैं । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नदी तथा ताल क्षेत्रमा हुने सम्भावित दुर्घटना न्यूनिकरणका लागि समुदाय स्तरमा नियमित सचेतना र पूर्वतयारी आवश्यक रहेको बताउनुभएको छ ।

जिल्ला प्रशासन कार्यालय कास्की र सुरक्षा निकायहरूको संयुक्त आयोजनामा पोखरामा बिहीबार सम्पन्न भएकाे कृत्रिम उद्धार अभ्यास कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री पाण्डेले यस्तो धारणा राख्नुभएको हो । उहाँले विपदको समयमा हुने मानवीय र भौतिक क्षति कम गर्न पूर्वसूचना प्रणाली, प्रभावकारी समन्वय र नियमित अभ्यासले महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्नुभयो । यस्ता जोखिमलाई मध्यनजर गर्दै प्रदेश सरकारले विपद व्यवस्थापन र न्यूनिकरणका कार्यक्रमहरूलाई प्राथमिकतामा राखेको उहाँले स्पष्ट पार्नुभएकाे छ।

नेपालको पर्यटकीय राजधानी पोखरा तालैतालको शहरका रूपमा परिचित रहेको स्मरण गराउँदै मुख्यमन्त्री पाण्डेले यहाँका तालहरूले पर्यटन र आर्थिक गतिविधिमा ठूलो योगदान पुर्‍याएको बताउनुभयो । साथै पर्यटकीय क्षेत्रमा हुने सम्भावित दुर्घटनाहरू रोक्न र नागरिकको जिउधनको सुरक्षा सुनिश्चित गर्न सुरक्षा निकायहरूको तत्परता र उद्धार क्षमता अभिवृद्धि हुनुपर्नेमा उहाँले जोड दिनुभएकाे छ।…..

सम्भावित विपद्को समयमा तत्काल उद्धार कार्यमा खटिने सुरक्षा निकाय र सरोकारवालाहरूको मनोबल उच्च बनाउन यस्ता कृत्रिम अभ्यासहरू प्रभावकारी हुने मुख्यमन्त्री पाण्डेको विश्वास थियाे ।