Logo २६ जेष्ठ २०८३, मंगलबार | Tue Jun 9 2026


आशिका तामाङको स्पष्टीकरण: ‘सर्वसाधारणको जामप्रति ध्यानाकर्षण गराएकी हुँ’


832
Shares

काठमाडौं । काठमाडौंको थापाथली चोकमा ट्राफिक प्रहरीसँग भनाभनमा परेकी राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद आशिका तामाङ ले आफूले ट्राफिक व्यवस्थापनको कमजोरीप्रति ध्यानाकर्षण मात्र गराएको बताएकी छन्।

बुधबार दिउँसो थापाथली चोकमा सवारी जामका बीच ड्युटीमा रहेका ट्राफिक प्रहरीले उनको गाडी रोकेर सोधपुछ गरेपछि केही समय विवादको अवस्था सिर्जना भएको थियो। प्रत्यक्षदर्शीका अनुसार सर्वसाधारण सवारीभन्दा केही अगाडि बढेर रोकिएको भन्दै ट्राफिक प्रहरीले गाडी रोकेपछि सांसद तामाङ गाडीबाट ओर्लिएकी थिइन्।

त्यसक्रममा उनले ट्राफिक व्यवस्थापनप्रति असन्तुष्टि जनाउँदै, “ग्रीन सिग्नल बल्दा पनि गाडी रोकेर राखिएको छ, सर्वसाधारण अनावश्यक जाममा फसिरहेका छन्,” भन्दै त्यहाँ रहेका अर्का ट्राफिक प्रहरीलाई नियमबारे सम्झाउन आग्रह गरेकी थिइन्।

घटनापछि सामाजिक सञ्जालमा भिडियो सार्वजनिक भएपछि विषयले चर्चा पाएको छ। सांसद तामाङनिकट स्रोतका अनुसार उनले आफूले कुनै व्यक्तिगत सुविधा नमागेको र सर्वसाधारणले भोगिरहेको सास्तीबारे आवाज उठाएको दाबी गरेकी छन्।

यद्यपि, व्यस्त थापाथली चोकमा सांसद स्वयं सडकमा ओर्लिएपछि केही समय सवारी आवागमन थप प्रभावित बनेको थियो। ट्राफिक प्रहरीले भने घटनाबारे औपचारिक प्रतिक्रिया सार्वजनिक गरिसकेको छैन।