एजेन्सी । दक्षिण कोरियाका विशेष अभियोजनकर्ताले शुक्रवार पूर्वराष्ट्रपति युन सुक–योलकी पत्नी किम केओन–हीलाई भ्रष्टाचार र सरकारी पदको दुरुपयोग गरेको आरोपमा साढे सात वर्षको जेल सजाय माग गरेका छन् ।
पूर्वराष्ट्रपतिको दम्पती संलग्न भ्रष्टाचार प्रकरणको अनुसन्धान गरिरहेको स्वतन्त्र काउन्सिल मिन जुङ–की नेतृत्वको टोलीले सियोल केन्द्रिय जिल्ला अदालतसमक्ष किमलाई सात वर्ष ६ महिनाको कारावास सजाय तोक्न माग गरेको हो। किममाथि महँगा गहना, महँगो चित्रकला र डिजाइनर ब्यागको बदलामा सरकारी पदहरू उपलब्ध गराएको (विक्री गरेको) आरोप लगाइएको छ ।
अभियोग पत्रकाअनुसार किमले सन् २०२२ को मार्चदेखि मे महिनाको बीचमा एक व्यवसायीका जेठा ज्वाइँलाई सरकारी पदमा नियुक्त गराइदिए बापत ती व्यवसायीबाट हार, ब्रोच र झुम्का लिएकी थिइन् । त्यसैगरी, सन् २०२२ को अप्रिलमा राष्ट्रिय शिक्षा आयोगका पूर्व प्रमुखबाट नियुक्ति गरिदिने शर्तमा ‘सुनको कछुवा’ र सोही वर्षको सेप्टेम्बरमा एक रोबोट डग उद्यमीलाई व्यावसायिक लाभ दिलाउने आश्वासन दिँदै घडी उपहार लिएको दाबी गरिएको छ ।
अन्य आरोपहरूमा सन् २०२२ को जुनदेखि सेप्टेम्बरको बीचमा एक पादरीबाट महँगो डिजाइनर ब्याग र सन् २०२३ को फेब्रुअरीमा एक पूर्व सरकारी वकिलबाट मनोनयनको सिफारिस गरिदिए बापत चित्रकला प्राप्त गरेको विषयहरू समावेश छन् ।
सन् २०२५ को अगस्टमा हिरासतमा लिई अभियोग दर्ता गरिएकी किम दक्षिण कोरियाको इतिहासमा थुनामा राखेर मुद्दा चलाइएकी पहिलो पूर्वप्रथम महिला हुन् ।
पूर्वराष्ट्रपति युन सुक–योललाई सन् २०२४ को डिसेम्बरमा सैन्य शासन (मार्सल ल) घोषणा गरी राज्यद्रोह गरेको अभियोगमा गत फेब्रुअरीमा आजीवन कारावासको सजाय सुनाइएको थियो। राज्यद्रोहको मुख्य योजनाकार रहेको आशंकामा सन् २०२५ को जनवरीमा उनी पदमै बहाल रहेको अवस्थामा पक्राउ गरी अभियोग दर्ता गरिएको थियो। उनी बहालवाला पदमै रहँदा पक्राउ पर्ने र अभियोग सामना गर्ने दक्षिण कोरियाको पहिलो राष्ट्रपति हुन् ।










प्रतिक्रिया दिनुहोस्