
उनलाई शनिबार हेलिकोप्टरमार्फत् आँपपिपल, पण्डितगाउँस्थित जन्मघर लगिएको हो ।
डा. देवकोटाले आफू जन्मेको गाउँ पुग्ने र सिस्नेधाराको पानी पिउने रहर गरेका थिए ।
शनिबार दिउँसो २ बजेर १० मिनेटमा डा. उपेन्द्र देवकोटालाई लिएर हेलिकोप्टर गोरखाको आँपपिपलतर्फ उडेको थियो । त्यहाँ घरनजिकै हेलिप्याड बनाइएको थियो ।
डा. देवकोटा, उपचारमा संलग्न चिकित्सकको टोली र आफन्तजन बोकेर दुईओटा हेलिकोप्टर गोरखा गएको थियो ।
डा. देवकोटालाई घरमा लगेर पिँढीमा राखेलगत्तै घरनजिकै रहेको सिस्नेधाराको पानी खुवाइएको थियो ।
पुख्र्याैली घर पुग्दा देवकोटा खुसी देखिएपनि आफन्तहरुसँग भने उनको दोहोरो कुराकानी भएन । उनलाई हेर्न ठूलो संख्यामा गाउँलेलगायत शुभेच्छुकहरुको भीड लागेको थियो ।
यसअघि, काठमाडौंबाट उनलाई लिएर उडेलगत्तै हुरी र झरीका कारण हेलिकोप्टर फेरि अस्पालत परिसरमै अवतरण गराउनुपरेको थियो ।
१५ मिनेटजति रोकिएपछि फेरि हेलिकोप्टर गोरखाका लागि उडेको थियो ।
जन्मघर गएर सिस्नेधाराको पानी खान मन गरेपछि डा. देवकाटालाई पालुङटार लगिएको अस्पतालका प्रशासन प्रमुख वसन्त देवकोटाले जानकारी दिए ।
यसअघि, गम्भीर अवस्थामै सघन उपचारकक्षमा राखेर उपचार भइरहे पनि अनेक अफवाह फैलिएपछि शुभचिन्तकहरुकामाझ उनलाई सार्वजनिक पनि गरिएको थियो ।
पित्तथैलीको क्यान्सरबाट पीडित देवकोटा गत वैशाखदेखि न्यूरो अस्पताल बाँसबारीमा बसेर उपचार गराइरहेका छन् ।
त्यसअघि, उनको बेलायतको किंग्स कलेज हस्पिटलमा उपचार भएको थियो । पाँच महिना लामो उपचारपछि पनि स्वास्थ्यमा सुधार नआएपछि गत वैशाख १८ गते देवकोटालाई नेपाल ल्याएर बाँसबारीस्थित न्यूरो अस्पतालमा भर्ना गरिएको थियो ।
यसैबीच, शनिबारै नेप्लिज न्यूरो सर्जन सोसाइटीले मानार्थ अध्यक्ष उपाधिबाट डा. देवकोटालाई सम्मान गरेको छ । अस्पतालमै पुगेर सोसाइटीले मानार्थ अध्यक्षको प्रमाणपत्र प्रदान गरेको हो ।
सोसाइटीका अध्यक्ष प्रा. डा. मोहनराज शर्माले अस्पतालको आइसीयुमै पुगी डा. देवकोटालाई मानार्थ अध्यक्षको उपाधि हस्तान्तरण गरेको जानकारी दिए ।
त्यसक्रममा सामान्य दोहोरो कुराकानी गरिएको शर्माले जानकारी गराए ।
प्रतिक्रिया दिनुहोस्