काठमाडाैं । सन् २०२६ को शुरुवाती चार महिनामा ८३ हजार १ सय ४९ जना विदेशी पर्यटक मुस्ताङ घुम्न पुगेका छन् ।
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) जोमसोम कार्यालयले याे सन् २०२५ को सोही अवधिको भन्दा बढी भएकाे जनाएकाे हाे । सन् २०२६ को जनवरीमा १० हजार ८०३, फेब्रुअरीमा नौ हजार चार, मार्चमा २३ हजार २०४ र अप्रिलमा ४० हजार १३८ जना विदेशी पर्यटक मुस्ताङ भित्रिएको कार्यालयले जनाएकाे छ।
यसअघि सन् २०२५ को सोही अवधिमा ५१ हजार ८९६ जना विदेशी पर्यटकले मुस्ताङ भ्रमण गरेका थिए । त्यस वर्ष जनवरीमा चार हजार ३४६, फेब्रुअरीमा पाँच हजार ३०३, मार्चमा १९ हजार ९५ र अप्रिलमा २३ हजार १५२ जना विदेशी पर्यटक आएका थिए ।
कार्यालयले सन् २०२५ को पहिलो चार महिनाको तुलनामा सन् २०२६ को पहिलो चार महिनामा ३१ हजार २५३ जना विदेशी पर्यटकको सङ्ख्या वृद्धि भएको जनाएकाे छ। मुस्ताङ भित्रिएका विदेशी पर्यटकमध्ये ८० प्रतिशतभन्दा बढी भारतीय पर्यटक रहेका छन् ।
मुस्ताङ जाने पर्यटकमध्ये अधिकांशले मुक्तिनाथ दर्शन गरी फर्किने गरेको पाइएको छ । पोखरा–जोमसोम हवाईमार्ग र सडकमार्ग हुँदै आउने तेस्रो मुलुकका (सार्कबाहेक) पर्यटकहरू जोमसोम हुँदै उपल्लो मुस्ताङ प्रस्थान गर्ने गरेको कार्यालयले जनाएकाे हाे ।










प्रतिक्रिया दिनुहोस्