काभ्रे । खानी खोला गाउँपालिका ७ निवासी ४३ वर्षीय सेते रुम्बालाई बागमती खोलाले बगाएको छ । खोला तर्ने क्रममा उनलाई बगाएको गाउँपालिका अध्यक्ष इन्द्रबहादुर थिङ छिन्ताङले जानकारी दिएका छन् ।
दिउसो ३ बजे खानी खोला ७ घुम्तीबाट मकवानपुरको बागमती गाउँपालिका वडा नम्वर ५ फार्सा जाने क्रममा उनलाई बगाएको स्थानीयले बताएका छन् । प्रहरी चौकी ताल्ढुंगा, स्थानीयहरूले बागमती खोलामा खोजविन गरेका थिए । साँझ ६ः३० बजेको समयमा उनको शव सिक्रे दोभानको पुल नजिक फेला परेको छ ।
यसैबिच श्रीखण्डपुर ५ धुलिखेलमा विद्यालयबाट फर्कँदै गरेको बस बाढीमा फसे पछि सशस्त्र प्रहरी बलको टोलीले उद्धार गरेको छ । लिन इन्टरनेट स्कुल बनेपाका विद्यार्थी पु¥याउन गएको बस बनेपा ६ रातमाटे हुँदै श्रीखण्डपुर जाँदै थियो । सोही क्रममा निरन्तर परेको बर्सातका कारण विद्यालय बस फस्न पुग्यो ।
तत्कालै सुरक्षण मुद्रण प्रेसमा रहेको सशस्त्र प्रहरी बलको टोली घटनास्थल आएर फसेको बस भित्र रहेका ३० जना विद्यार्थी र ५ शिक्षकलाई उद्धार गरेको प्रहरी निरीक्षक आलोक बस्नेतले जानकारी दिए । उद्धार गरिएका विद्यार्थी र शिक्षकलाई सशस्त्र प्रहरी आफैले घर घर पु¥याएको छ ।
सोमबार दिउसोदेखिको वर्षाका कारण काभ्रेको जनजीवन प्रभावित भएको छ । बिपी राजमार्ग अवरुद्ध छ भने अरनिको राजमार्गको निर्माणाधीन साँगा–धुलिखेल खण्ड पनि जोखिमपूर्ण बनेको छ ।










प्रतिक्रिया दिनुहोस्