काठमाडाैं । आईसीसी क्रिकेट विश्वकप लिग–२ एकदिवसीय शृङ्खलामा संयुक्त अरब इमिरेट्स (यूएई) ले ओमानलाई ५४ रनकाे फराकिलाे अन्तरले पराजित गरेकाे छ ।
कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा आइतबार भएकाे खेलमा यूएईले दिएको ३ सय ९ रनको लक्ष्य पछ्याएको ओमानले ३९ ओभर ५ बलमा २ सय ५४ रन बनाउँदा सबै विकेट गुमाएकाे हाे । ओमानका जितेन रामानन्दीले नटआउट ९१, हमाद मिर्जाले ८३ रन बनाएका थिए । यूएईका जुनैद सिद्दिकीले ६ विकेट लिएका हुन् ।
यसअघि टस जितेर ब्याटिङ गरेको यूएईले वर्षाका कारण ४७ ओभरमा घटाइएको खेलमा ८ विकेट गुमाएर ३ सय ८ रन बनाएको थियो । यूएईका चार जना खेलाडीले अर्धशतक बनाए । यूएईका हरप्रीत सिंहले ७७, मुहम्मद शहदादले ७४, अदीप उस्मानीले ७२ र अर्यांश शर्माले ५० रन बनाएका छन् । ओमानका मुहम्मद इमरानले ३ विकेट लिए ।
यो जितसँगै यूएई २४ खेलमा १४ अङ्क जोडेर तालिकाको पुछारमा छ । ओमान २७ खेलमा ३१ अङ्कसहित तेस्रो स्थानमा रहेकाे हाे । काठमाडाैंमा जारी शृङ्खलाको अन्तिम खेलमा मंगलबार नेपाल र ओमानबीच प्रतिस्पर्धा हुने भएकाे हाे । नेपाल लिग–२ तालिकामा २३ खेलमा १६ अङ्कसहित सातौ स्थानमा छ ।
यसपछि कीर्तिपुरमै यहि यहि वैशाख २९ गतेदेखि नेपाल, स्कटल्यान्ड र अमेरिका सम्मिलित लिग–२ शृङ्खला शुरू हुने भएकाे हाे ।










प्रतिक्रिया दिनुहोस्