काठमाडाैं । सभामुख डोलप्रसाद अर्यालले कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाले एउटै स्पिरिटमा काम गर्नसके मुलुकले छोटो समयमा ठूलो फड्को मार्नसक्ने बताउनुभएको छ ।
आइतवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले मुलुकको विकासका लागि शिक्षा, स्वास्थ्य, कृषि र भौतिक पूर्वाधार विकासलाई एकीकृत रूपमा अघि बढाउनुपर्नेमा जोड दिनुभयो ।
उहाँले सरकार र संसदबीचको समन्वयलाई तीव्र बनाउने प्रतिबद्धता व्यक्त गर्दै प्रधानमन्त्रीको गतिअनुसार कानून निर्माण प्रक्रिया अघि बढाउने दाबी समेत गर्नुभयो । उहाँले आफ्नो कार्यकाल मुख्यतः कानून निर्माण तथा त्यसको कार्यान्वयनका लागि कार्यपालिकालाई निर्देशित गर्ने भुमिका प्रभावकारी रुपमा कार्यान्वयन गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘कानून निर्माणदेखि मुलुकको भौतिक विकासलगायत शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रलाई मिलाएर काम गर्नुपर्नेछ । त्यसमा यहाँहरुको साथ, सहयोग र समर्थन रहिरह्यो भने मलाई लाग्छ छिटोभन्दा छिटो ठूलै फड्को मार्न सकिन्छ । जहिले जुन प्रधानमन्त्रीज्यूको दौड छ त्यही दौडमा लागिरहनुभएको छ कानून निर्माण पनि त्यही गतिमा गर्ने प्रतिवद्धता व्यक्त गरेको छु । न्यायपालिका, कार्यपालिका र व्यवस्थापिकाले एउटै स्पिरिटमा काम गरेभने मैले अनुमान गरेको दुई वर्षमा तपाई हामीले अहिलेसम्म नदेखेको विकास र तपाई हामीले अहिलेसम्म नदेखेको सुशासन देख्न सक्छौँ र भ्रष्टाचार अन्त्य हुन्छ । त्यसको लागि हामी सबैले मिलेर काम गर्नुपर्नेछ ।’ देश र नागरिकले जित्नेगरी अबको पाँच वर्ष मुलुकलाई अघि बढाउनुपर्नेमा उहाँको जोड छ ।










प्रतिक्रिया दिनुहोस्