काठमाडौं । म्यानहन्ट इन्टरनेशनल नेपाल २०२६ ले नेपाल पर्यटन बोर्ड सँगको सहकार्यमा “स्थान तथा संस्कृति प्रवर्द्धन” अभियानअन्तर्गत पनौतीमा सांस्कृतिक अनुभव कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ।

कार्यक्रममा १४ जना प्रतियोगी, ६ सदस्यीय इन–हाउस टिम र २ सदस्यीय प्रोडक्सन टिम गरी कुल २२ जनाको सहभागिता रहेको थियो। नेपालको सांस्कृतिक सम्पदा र समुदाय–आधारित पर्यटनको प्रवर्द्धन गर्ने उद्देश्यसहित कार्यक्रम आयोजना गरिएको हो।
पनौती पुगेपछि टोलीलाई महिला नेतृत्वमा सञ्चालित होमस्टे समुदायले परम्परागत टीका र मालासहित स्वागत गरेको थियो। समुदायिक भवनमा परिचयात्मक कार्यक्रम सम्पन्न गरी सहभागीहरूलाई होमस्टेमा बसोबासको व्यवस्था मिलाइएको थियो।

साँझ स्थानीय समुदायले प्रस्तुत गरेको सांस्कृतिक नृत्य कार्यक्रममार्फत सहभागीहरूले पनौतीको मौलिक परम्परा र जीवनशैलीलाई नजिकबाट अनुभव गरेका थिए। पनौतीका ऐतिहासिक तथा सांस्कृतिक सम्पदास्थलहरूको अवलोकन भ्रमण गरिएको थियो।

यस कार्यक्रमले नेपालको सांस्कृतिक विविधता प्रवर्द्धनसँगै पर्यटन प्रवर्द्धनका लागि सामग्री उत्पादनमा समेत सहयोग पुगेको बताइएको छ। साथै, स्थानीय गन्तव्यहरूको प्रवर्द्धन, समुदाय सशक्तिकरण र नेपालको सांस्कृतिक पहिचानलाई अन्तर्राष्ट्रिय स्तरमा उजागर गर्ने साझा प्रतिबद्धता समेत व्यक्त गरिएको छ।













प्रतिक्रिया दिनुहोस्