Logo ८ असार २०८३, सोमबार | Mon Jun 22 2026


बाढीले डाइभर्सन बगाएपछि वीपी राजमार्ग हिजोदेखि अवरूद्ध

डाइभर्सन मर्मत भएपछि मात्रै सवारी चलाउन अनुमति दिने प्रहरीकाे याेजना

806
Shares

काठमाडाैं । जिल्ला प्रशासन कार्यालय काभ्रेले वर्षाका कारण रोशी खोलामा आएको बाढीले डाइभर्सन बगाएपछि शनिबारदेखि अवरुद्ध वीपी राजमार्ग अझै खुल्न नसकेको बताएकाे छ।

प्रशासनले डाइभर्सन बगाएपछि वीपी राजमार्गमा सम्भावित जोखिमलाई मध्यनजर गर्दै तत्कालका लागि सवारी आवागमन पूर्ण रूपमा बन्द गरेको जनाएकाे हो । राजमार्ग अर्न्तगत काभ्रे खण्डको विभिन्न ठाउँमा पानी परेपछि खोलामा बाढी आएको र अस्थायी डाइभर्सन बगाएको छ । बाढीले वीपी राजमार्गको काभ्रे खण्डको चौकीडाँडा, घुमाउने, चारसय बेँसी, गिम्दी बेँसी, नार्के, चिउरीबास, कालढुङ्गा, माम्ती र सिन्धुलीको आँपघारीमा अस्थायी डाइभर्सन बगाएको हाे ।

अहिले त्यस क्षेत्रको पूर्ण रूपमा अवरुद्ध रहेको र खुलाउने प्रयास भइरहेको छ । गत वर्ष असोजमा गएको बाढी पहिरोले राजमार्गको रोशी तथा सिन्धुलीको नेपालथोक क्षेत्रमा १८ किलोमिटर सडक बगाएपछि डाइभर्सन निर्माण गरी आवागमन हुँदै आएको हाे। शनिबारदेखि राजमार्गको प्रवेश मार्ग धुलिखेलको काभ्रे भन्ज्याङ र सिन्धुलीको नेपाल थोकमा गाडीलाई ‘होल्ड’ गरेर राखिएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेले मौसममा सुधार तथा डाइभर्सन मर्मत भएपछि मात्र गाडी चलाउन अनुमति दिने जनाएकाे हाे ।