Logo १० बैशाख २०८३, बिहिबार | Thu Apr 23 2026


शेयर बजारमा गिरावट जारी


13
Shares

काठमाडौं ।
शेयर बजार परिसूचक आज चौथो दिन पनि घटेर बन्द भएको छ ।

दिनभरको उतार चढावकाबीच बजार परिसूचक नेप्से १७ अंकले घटेर २७८७.१५ विन्दुमा झरेको छ । १० कारोबार दिनपछि नेप्से २८ सय तल बन्द भएको हो ।

परिसूचक घटेसंगै कारोबार रकम पनि ह्वात्तै घटेको छ । नेप्सेमा रहेका १३ उपसमूहमध्ये आज उत्पादन तथा प्रशोधन र व्यापार उपसमूहको परिसूचक सामान्य बढेको बाहेक अरु ११ वटा उपसमूहको परिसूचक घटेको छ । २१६ वटा कम्पनीको शेयर मूल्य घट्दा ४६ वटाको मात्रै मूल्य बढेको छ ।

आज पाल्पा सिमेन्ट इण्डष्ट्रीज र शिखर पावर डेभलपमेन्टको शेयर मूल्यमा मात्रै सकारात्मक सर्किट लागेको छ । पछिल्ला केही दिन यता निरन्तर सकारात्मक सर्किटमा कारोबार हुँदै आएको सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकको शेयरमूल्य भने आज सर्वाधिक ११.७९ प्रतिशत घटेको छ ।

आज दिनभरमा ३४८ वटा स्टकको एक करोड १३ लाख ७५ हजार कित्ता शेयर ५ अर्ब ९ करोड ५९ लाख ५ हजार रुपैयाँ बराबरमा खरिद विक्री भएको छ । कारोबार रकमका आधारमा आज रिलायन्स स्पिनिङ्ग मिल्सको सर्वाधिक ३० करोड ४२ लाख ५२ हजार रुपैयाँबराबरको शेयर कारोबार भएको छ ।