Logo ९ बैशाख २०८३, बुधबार | Wed Apr 22 2026


शेयर बजारमा झिनो अंकको गिरावट


91
Shares

काठमाडाैं । शेयर बजार परिसूचक आज झिनो अंकले घटेको छ ।

विहान बजार खुलेदेखि निरन्तर घट्न थालेको बजार परिसूचक नेप्से २७ सय ६२ को विन्दुसम्म झरेकोमा गृहमन्त्री सुधन गुरुङले पदत्याग गरेको खबरसंगै दिउँसो २:४० बजेपछि उकालो लागेर २८ सय १७ सम्म पुगेको थियो ।

तर अन्तिममामा २.९५ अंक घटेर २८०४.१७ को विन्दुमा बजार बन्द भएको छ । नेप्सेमा रहेका १३ वटा उपसमूह मध्ये आठ वटा उपसमूहको परिसूचक घटेको छ भने पाँच वटा उपसमूहको परिसूचक बढेको छ । बैंकिङ्ग, वित्त, लगानी, उत्पादन तथा प्रशोधन र निर्जीवन बीमा उपसमूहको परिसूचक सामान्य बढेका छन् ।

होटल तथा पर्यटन उपसमूहको परिसूचक आज सर्वाधिक २.३६ प्रतिशतले घटेको छ । नेप्से सामान्य अंक घटेपनि कारोबार रकम भने बढेको छ ।

१२१ वटा कम्पनीको शेयर मूल्य बढेको बजारमा १३८ वटा कम्पनीको शेयर मूल्य भने घटेको छ । पाल्पा सिमेन्ट, सूर्यकुण्ड हाइड्रो र शिखर हाइड्रोको शेयर मूल्यमा आज पनि १५ प्रतिशतको सकारात्मक सर्किट लागेको छ । पछिल्ला दिनहरुमा हरेक दिन सकारात्मक सर्किट लाग्दै आएको होटल फरेस्ट इनको शेयर मूल्य भने आज १० दशलव ७५ प्रतिशतले घटेको छ ।

दिनभरमा ३४२ वटा स्टकको एक करोड ७५ लाख ८८ हजार कित्ता शेयर ७ अर्ब ८१ करोड ३९ लाख ४७ हजार रुपैयाँ बराबरमा खरिद विक्री भएको छ ।

कारोबार रकमका आधारमा आज नेशनल हाइड्रोको सर्वाधिक ४१ करोड ३४ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ भने रिलायन्स स्पिनिङ्ग मिल्सको साढे ३२ करोड रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ ।