काठमाडाैं । देशका विभिन्न ९ वटा जिल्लामा आगामी तीन दिनसम्म तातो हावा चल्ने भएको छ ।
जल तथा मौसम विज्ञान विभागले विशेष बुलेटिन जारी गर्दै सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराईका भू–भागहरुमा तातो दिन तथा तातो लहर चल्ने भएकाले शतर्कता अपनाउन आग्रह गरेको हो । विभागले कञ्चनपुर, कैलाली, डडेल्धुरा, डोटी, बर्दिया, बाँके, दाङ, कपिलवस्तु र रुपन्देहीमा तीनदिनसम्म तातो लहर चल्ने जनाएको छ।
विभागले लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका थोरै स्थानहरूमा साेमबारदेखि अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सो भन्दा बढी मापन गरिएको बताएकाे छ। साथै साेमबार मधेश प्रदेश लगायत बागमती, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका तराईका केही स्थानहरूमा ३८ डिग्री सेल्सियस आसपास मापन गरिएको हाे।
देशैभरको तापक्रमको अवस्थाको विश्लेषण अनुसार आगामी ३ दिन पनि लुम्बिनी-सुदूरपश्चिम प्रदेशका तराईका केही स्थानहरूमा अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सो भन्दा बढी तथा मधेश प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका तराईका केही स्थानहरूमा ३८ डिग्री सेल्सियस वा सो भन्दा बढी भई अत्यधिक गर्मीको सम्भावना देखिएको विभागले जनाएको छ ।
तातो हावा तथा तातो लहरबाट बच्न घर भित्र चिसो स्थानमा रहने, बाहिरी वातावरणमा बढी नजाने ,बाहिर निस्कँदा टाउको छोप्ने, टोपी लगाउने, पटक–पटक पानी तथा झोल पदार्थ प्रशस्त मात्रामा पिउने र स्वास्थ्यमा समस्या भएमा स्वास्थ्यकर्मीसँग नियमित सम्पर्कमा रहन पनि विभागले आग्रह गरेकाे हाे ।









प्रतिक्रिया दिनुहोस्