काठमाडाैं । इजरायली आक्रमण र युद्धविराम पछिका विष्फोटका घटनाहरूमा कम्तीमा १४ जनाको ज्यान गएको छ भने दर्जनौँ घाइते भएका छन् ।
शुक्रवार राष्ट्रिय समाचार एजेन्सीकाअनुसार टायर सहरमा युद्धविराम लागू हुनुभन्दा ठिक अघि भएका इजरायली हवाई आक्रमणको भग्नावशेषबाट उद्धार टोलीले १३ वटा शव निकालेका छन् र ३५ जना घाइतेहरूलाई उद्धार गरेका छन् । उद्धार टोलीकाअनुसार टायर सहरमा अझै करिव १५ जना हराइरहेका छन् र बेपत्ताहरूको खोजी कार्य जारी छ ।
यो आक्रमणले युद्धविराम अघिको अन्तिम केही घण्टाहरूमा भएको भीषण हिंसालाई दर्शाउँछ । अर्को एक छुट्टै घटनामा, मजदल सेल्ममा इजरायली सेनाले छोडेको विष्फोटक पदार्थ पड्किँदा एक बालकको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् । यस घटनालाई युद्धविराम पछिको ‘विष्फोटक अवशेष’ को जोखिमको रूपमा हेरिएको छ ।
लेबनानी सेनाले टायर नजिकैको कास्मिया तटबन्ध पुल पुनः खोल्नका लागि विशेष इकाई परिचालन गरेको जनाएको छ । यो पुल बिहीवार इजरायली आक्रमणमा क्षतिग्रस्त भएको थियो । सेनाले उक्त क्षेत्रमा आफ्नो उपस्थिति बलियो बनाएको छ ।
यसैबीच, लेबनानी समूह हिजबुल्लाहले ४५ दिनको अवधिमा इजरायली लक्ष्यहरूमा २ हजार १ सय भन्दा बढी सैन्य अपरेशनहरू गरेको बताएको छ, जसले युद्धविरामका बाबजुद दुई पक्षबीचको तनाव अझै पूर्ण रूपमा शान्त नभएको संकेत गर्दछ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको घोषणापछि बिहीवार र शुक्रवारको मध्यरातबाट १० दिने युद्धविराम लागू भएको छ । यो ट्रुसको मुख्य उद्देश्य इजरायल र हिजबुल्लाहबीच एक महिनाभन्दा लामो समयदेखि चर्किएको हिंसा अन्त्य गर्नु हो, जसमा हालसम्म २ हजार भन्दा बढी मानिसले ज्यान गुमाइसकेका छन् ।









प्रतिक्रिया दिनुहोस्