Logo २ बैशाख २०८३, बुधबार | Wed Apr 15 2026


भक्तपुरमा सिन्दुरको वर्षा (तस्बिरसहित)


0
Shares

काठमडाैं । नेपाली नयाँ वर्षको आगमनसँगै भक्तपुरमा उत्साहका साथ मनाइने ऐतिहासिक बिस्का जात्राको एउटा मुख्य आकर्षण ‘सिन्दुर जात्रा’ हो ।

विशेषगरी मध्यपुर थिमिमा मनाइने यो जात्राले धार्मिक आस्था मात्र नभई सामाजिक सद्भाव र एकताको समेत सन्देश दिन्छ । ३२ वटा देवीदेवताका खतहरूलाई नगर परिक्रमा गराउँदै सिन्दुरको वर्षा गरेर मनाइने यो जात्रा नेवार समुदायको जीवन्त संस्कृतिको एक उत्कृष्ट उदाहरण हो । सम्पूर्ण वातावरण नारंगी रंगको सिन्दुरले ढाकिएको हाे । स्थानीय बासिन्दाहरू परम्परागत पोशाकमा सजिएर, अनुहारभरि सिन्दुर दलेर धिमे र भुष्या जस्ता मौलिक बाजाको तालमा नाचिरहेका छन् ।

कतै भक्तजनहरूले देवताका खतहरू (पालकी) लाई काँधमा बोकेर गल्ली–गल्ली घुमाइरहेका छन् भने कतै हातमा मशाल र ध्वजापताका लिएर जात्राको रौनकता बढाइरहेका छन् । बालबालिकाको उत्साह र वृद्धहरूको भक्तिभावले यो जात्रा सबै पुस्ताका लागि कति महत्वपूर्ण छ भन्ने प्रष्ट पार्छ । सिन्दुर जात्रा केवल एउटा पर्व मात्र नभई हाम्रो पहिचान र पुर्खाले सुम्पिएको अमूल्य नासो हो । यस्ता साँस्कृतिक उत्सवहरूले पर्यटकीय आकर्षण बढाउनुका साथै नयाँ पुस्तालाई आफ्नो मौलिक परम्परासँग जोड्ने काम गर्छन् ।

तसर्थ, हाम्रो देशको यस्तो गौरवशाली र जीवन्त संस्कृतिको संरक्षण र संवद्र्धन गर्नु हामी सबैको साझा दायित्व हो ।