Logo १ बैशाख २०८३, मंगलबार | Tue Apr 14 2026


सुदूरपश्चिम पहिलो पटक प्रधानमन्त्री कप क्रिकेटको फाइनलमा

सुदूरपश्चिमले उपाधिका लागि आर्मी क्लबसँग प्रतिस्पर्धा गर्ने

364
Shares

काठमाडाैं । आसिफ शेखको कीर्तिमानी दोहोरो शतकमा एपिएफ क्लबले मधेश प्रदेशलाई पराजित गरेसँगै प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम फाइनलमा प्रवेश गरेकाे छ।

त्रिभूवन आर्मी क्लब यसअघि नै फाइनलमा पुगिसकेको हाे। यो खेलअघि मधेश र सुदूरपश्चिम प्रदेशको मात्र शीर्ष दुई स्थानमा रहेर फाइनल खेल्ने सम्भावना देखिन्थ्यो । तर मधेशले आफ्नो आठौं खेलमा सोमबार एपिएफसँग ७४ रनको हार व्यहोर्‍यौं । याेसँगै मधेश एक खेलअगावै फाइनल पुग्ने सम्भावनाबाट बाहिरिएको हो ।

कप्तान विनोद भण्डारीको शतकमा आर्मीले कोशी प्रदेशलाई १ सय ८५ रनले पराजित गरेकाे छ। यो जितसँगै आर्मी शीर्ष स्थानमा रहेर सुदूरपश्चिमसँग फाइनलमा खेल्ने समीकरण पूरा भएको हो । अपराजित आर्मी र सुदूरपश्चिमले आगामी शुक्रबार उपाधिका लागि खेल्ने भएका छन् । प्रधानमन्त्री कप खेल्ने सुदूरपश्चिम विभाग बाहिरको पहिलो टोली हो ।

वीरगञ्जमा साेमबारै भएकाे खेलमा एपिएफ र मधेश तथा जनकपुरमा भएकाे आर्मी र कोशीबीचको खेलमा रनको वर्षा नै भयो । आर्मी र एपिएफ दुवैले ३ सय ६० रन भन्दा माथिको लक्ष्य दियो । वीरगञ्जमा ओपनर आसिफले दोहोरो शतक पूरा गर्दै कीर्तिमान बनाए । नारायणी क्रिकेट मैदानमा एपिएफले ३ सय ९१ रनको चुनौतीपूर्ण लक्ष्य बनायो । जवाफी ब्याटिङ गरेको मधेसले पूरै ओभरमा आठ विकेट गुमाएर ३ सय १६ रन मात्र बनाउन सक्यो ।

तेस्रो ओभरमै ओपनर मायन यादव आउट भएपछि मधेशको शुरवात राम्रो हुन सकेन । अर्का ओपनर मोहम्मद समीर २३ रन र कप्तान अनिल साह २९ रनमा आउट भएपछि मधेस दबाबमा पर्‍यो । मध्य क्रमका ब्याटर मोहम्मद आदिल आलम र अरनिको यादवको अर्धशतक बनाउँदै इनिङ समालेका थिए।