Logo २८ जेष्ठ २०८३, बिहिबार | Thu Jun 11 2026


सरकारको कदम प्रतिशोधपूर्ण, अध्यक्ष र पूर्व गृहमन्त्रीलाई तत्काल रिहा गरियोस् : महेश बस्नेत


364
Shares

काठमाडाैं । नेकपा एमालेका सचिव महेश बस्नेतले वर्तमान सरकारले राजनीतिक प्रतिशोध साँधेको आरोप लगाउँदै पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई तत्काल रिहाइ गर्न माग गर्नुभएको छ ।

पार्टी केन्द्रिय कार्यालय च्यासलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै सचिव बस्नेतले देश समृद्धि, विकास, सुशासन र रोजगारीको दिशामा अघि बढ्नुपर्ने युवाहरूको चाहनामाथि सरकारले प्रहार गरेको दाबी गर्नुभएको हो । एमाले अध्यक्ष ओली र काँग्रेस नेता रमेश लेखकलाई सरकारले शनिवार बिहान निवासबाट पक्राउ गरेको थियो । त्यसको विरोधमा एमालेले सडक संघर्ष शुरु गरिसकेको छ ।

उहाँले बालुवाटारबाट भइरहेका पछिल्ला निर्णयहरूलाई ‘घृणायुक्त’ र ‘प्रतिशोधपूर्ण’ भएको बताउनु भयो । सरकारले तत्काल यि निर्णयहरु फिर्ता लिनुपर्ने बताउनु भयो । उहाँले भन्नुभयो, ‘अब देश समृद्धि, विकास र सुशासन र रोजगारीतर्फ जानुपर्छ भन्ने हामी युवाहरुको चाहना माथि स्वस्ति शान्ति गर्दै त्यो चाहना पूरा गर्दै बेलुका फेरि दलहरु माथि प्रतिशोध गर्दै त्यो अलि अलि जागेको आगोमा पानी खन्याउने काम जुन बालुवाटार सरकारले गरेको छ यो एकदम यो घृणायुक्त काम छ र यो एकदम यो प्रतिशोधपूर्ण काम छ ।

सरकारले तत्कालै यो निर्णय फिर्ता गरोस् तत्कालै हाम्रो अध्यक्षज्यू र पूर्वगृह मन्त्री ज्यूलाई रिहा गरोस् भन्ने हाम्रो माग छ र कार्यदलको प्रतिशोधपूर्ण रिपोर्टलाई नि हामी स्वीकार गर्दैनौँ ।’ उहाँले गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन स्वीकार नगर्ने पनि स्पष्ट पार्नुभयो ।